एमाले सुदूरपश्चिम संसदीय दलले मन्त्रीहरूलाई परिवारजनको नियुक्ति खारेज गर्न निर्देशन

धनगढी- नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मन्त्री तथा राज्यमन्त्रीहरूले आफ्ना परिवारका सदस्यलाई स्वकीय सचिवदेखि भान्सेसम्म विभिन्न पदमा राखेको विषयलाई लिएर ती नियुक्ति तत्काल खारेज गर्न निर्देशन दिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको सरकारी निवासमा बसेको संसदीय दलको बैठकमा यस्तो निर्णय गरिएको हो। यसअघि एमाले संसदीय दलको कार्यालयमा आगलागी भएको कारण बैठक सार्कीको निवासमा बसेको हो।

Navadurga sun
Godawari sandesh

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा सहभागी थिए। त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउन भने उपस्थित थिइनन्।

Dadeldhura hospital

बैठकमा मन्त्रीहरूले आफ्ना छोराछोरी, दाजुभाइ, दिदीबहिनी र ज्वाइँसम्मलाई स्वकीय सचिव, चालक र भान्सेमा नियुक्त गरेको विषयमा सांसदहरूले कडा आलोचना गरेका थिए। बैठकमा सहभागी सांसदहरूका अनुसार ती नियुक्तिहरूले सरकार र पार्टी दुवैको बदनाम भएको भन्दै तत्काल हटाउनुपर्ने निष्कर्षमा पुगिएको हो।

संसदीय दलले अब मन्त्री, सांसद वा समितिका सभापतिहरूले आफ्ना परिवारका सदस्यलाई कुनै पदमा नियुक्त गर्न नपाउने निर्णय गरेको छ। यद्यपि पहिले नै नियुक्त भएका भए तत्काल हटाउनुपर्ने निर्देशन दिइएको छ।

यससँगै बैठकमा हालैको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र आगजनीका घटनाबारे पनि छलफल भएको थियो। ती घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय समिति बनाउनुपर्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिएको थियो।

संसदीय दलले सरकारसँग एउटा संसदीय समिति गठन गर्न माग गर्ने र पार्टीले पनि छुट्टै अध्ययन समिति बनाएर छानबिन अघि बढाउने निर्णय गरेको एमालेका प्रमुख सचेतक चक्र मल्लले जानकारी दिए। उनका अनुसार, आन्दोलनका क्रममा एमालेका कार्यालय र नेताकार्यकर्ताको निजी सम्पत्तिमा समेत क्षति पुर्‍याइएको छ, त्यसको छानबिन हुनैपर्छ भन्ने माग एमालेले गरेको छ।

त्यस्तै, सबै जिल्लामा तोडफोड र आगजनीका घटना संकलन गर्न सम्बन्धित जिल्लाका सांसदहरूलाई जिम्मेवारी दिइने, सांसद नभएका जिल्लामा भने छिमेकी जिल्लाका सांसदले प्रतिवेदन तयार गर्ने निर्णय पनि गरिएको छ।

Loading...