आन्दोलन अब जेनजीको मात्रै नभएर आम नेपाली जनताको भयो : कुलमान

काठमाडौँ- उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले  जेनजी पुस्ताले सोमबार देशभर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गरेका छन्।

जेनजी पुस्ताद्वारा आयोजित  विरोध प्रदर्शनका क्रममा राज्यले दमन गर्दा कम्तीमा १९ जना युवाहरूको ज्यान गएको छ।  ‘राज्यले कलिला युवाहरूमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलनले अब जेनजीको मात्रै नभएर आम नेपाली जनताको आन्दोलनको रूप लिएको छ,’ घिसिङले भने।  

Navadurga sun

सामाजिक सञ्जालमा प्रकाशित पोस्टमा नेपालमा दैनिक  १८ घटना सम्म चलेको लोडसेडिङ हटाउन निर्णायक भूमिका निर्वाह गरेका  घिसिङले सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नु पर्ने बताए।  

‘सोमबारको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो। देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द लगायतका विषयलाई लिएर  जेनजी पुस्ताले सोमबार देशभर स्वतःस्फूर्त गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भर्त्सना गर्दछु,’ घिसिङले भने, ‘यो आक्रोश युवाहरूको सपना हो, नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना।  देशभित्रै सुन्दर भविष्य, समृद्धि र जबाफदेहिताको चाहना राख्ने युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले मर्माहत भएको छु।’

उनले सरकारी दमनमा परी  ज्यान गुमाउने सम्पूर्ण युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । जेनजी पुस्ताले उठाएका मागलाई तत्काल सम्बोधन गर्न जोडदार माग गर्दै उनले यस दुखद घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए  । 

ADD Khali jpg
ADD Khali jpg
Loading...