




बैतडी- हालैको लगातार वर्षापछि पुर्चौडी नगरपालिकाका विभिन्न सडक खण्डमा पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। विशेषगरी नगरपालिकाको केन्द्रलाई जोड्ने ढोल्यामोड–पुर्चौडी हाट सडक खण्ड बन्द हुँदा स्थानीयवासी निकै सास्तीमा परेका छन्।




सडक अबरुद्ध भएपछि विद्यालय जाने विद्यार्थीदेखि बिरामी बोकेर अस्पताल पुग्नुपर्ने नागरिकसम्म प्रभावित भएका छन्। वडा नं. ८ का गणेश बिष्टका अनुसार, ‘‘सडक बन्द हुँदा यहाँका बिरामीलाई समयमा उपचारका लागि अस्पताल पुर्याउन सकिँदैन, सामान्य उपचारमा पनि ढिलाइ हुने गरेको छ,’’ उनले बताए।








यता, हाटका व्यापारी सुरेन्द्र जोशीले सडक बन्द हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामान ल्याउन कठिनाइ भएको बताएका छन्। ‘‘गाउँमा ल्याउनुपर्ने चामल, तेलजस्ता सामान समयमै नपुग्दा व्यापारी र उपभोक्ता दुवै समस्यामा पर्छन्,’’ उनले भने। स्थानीय पार्वती बोहराले हरेक वर्ष बर्खामा यस्तो समस्या दोहोरिने गरेको उल्लेख गर्दै, ‘‘अस्थायी रूपमा मर्मत हुन्छ तर दिगो समाधान कहिल्यै खोजिँदैन,’’ भनी आक्रोश पोखिन्।
तीज, गौरा जस्ता चाडपर्वका बेला आवतजावत गर्नुपर्ने मानिसहरू विशेष समस्यामा परेको स्थानीयको भनाइ छ। वडा नं. ८ का लोकेश साँउदका अनुसार, ‘‘सरसमान बोकेर बालबालिका, वृद्धवृद्धा बाहिर जानुपर्ने बाध्यता हुन्छ, तर सडक अवरुद्ध हुँदा दुर्दशा भोग्नुपर्छ,’’ उनले भने।
सडक अवरुद्ध भएपछि किसानहरू समेत मारमा परेका छन्। वडा नं. ७ का किसान करन ऐरीका अनुसार, खेतमा उत्पादन भएको मकै र तरकारी बजारसम्म लैजान नसक्दा नष्ट हुने अवस्था आएको छ। ‘‘यसले आम्दानी गुमाउनु परेको छ,’’ उनले गुनासो गरे। स्थानीय शिक्षक दिनेश पार्किले वैकल्पिक पहुँचमार्ग र दिगो पूर्वाधार निर्माणलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।
यसैबीच, पुर्चौडी नगरपालिकाका जनप्रतिनिधिहरूले सडक मर्मत तथा दिगो संरचना निर्माणका लागि पहल भइरहेको जनाएका छन्। तर निरन्तर वर्षाका कारण काम गर्न कठिनाइ भएको बताउँदै तत्काल समाधानका लागि स्थानीयलाई धैर्य गर्न आग्रह गरिएको छ।

