

अत्तरिया- सुदूरपश्चिम प्रदेशका विभिन्न आठ शहरमा चाडपर्वलाई लक्षित गरी भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सञ्चालन हुने यी पसल मार्फत उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराइने छ ।


साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरका अनुसार कैलालीका धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरका महेन्द्रनगर र बेलौरी, डोटीको दीपायल, डडेल्धुराको तुफानडाँडा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् ।



कुँवरका अनुसार नुनको मूल्य प्रतिकिलो २४ रुपैयाँ तोकिएको छ । एक व्यक्तिले अधिकतम ५ किलोसम्म नुन लिन पाउने छन् । त्यस्तै, चिनीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिने निर्णय भए पनि अन्तिम मूल्य निर्धारण भइसकेको छैन । चिनी अधिकतम ६ किलोसम्म लिन सकिने व्यवस्था गरिएको छ ।
यस्तै, चिउरा, आटा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ तथा तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिइने छ । चाडपर्वको अवधिभर सञ्चालन हुने यस्ता सुपथ मूल्य पसलले बजार मूल्य नियन्त्रणमा राख्ने र उपभोक्तालाई गुणस्तरीय वस्तु सहज रूपमा उपलब्ध गराउने उद्देश्य लिएको कार्यालयले जनाएको छ ।
सरकारले हरेक वर्ष चाडबाडका समयमा निजी क्षेत्रको एकाधिकार रोक्न र आम उपभोक्ताको हितलाई ध्यानमा राखी यस्ता पसल सञ्चालन गर्दै आएको छ । सुपथ मूल्य पसल आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने बताइएको छ ।