बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

Navadurga sun

बैतडी- मौसममा आएको अस्वाभाविक परिवर्तनसँगै बैतडीका गाउँ–गाउँमा भाइरल ज्वरोका बिरामी तीव्र रुपमा बढेका छन् । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचारका लागि पुग्ने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराका अनुसार पछिल्ला दिनमा ज्वरोका बिरामी उल्लेख्य रूपमा बढेका छन् । पहिलाको तुलनामा अहिले स्वास्थ्यचौकीमा आउने बिरामीको संख्या झनै बढी रहेको उनले जानकारी दिए ।

रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेश मडैले पनि उपचारका लागि आउनेमध्ये अधिकांश ज्वरोका बिरामी रहेको बताए । यस्तै, पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख तथा जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले दैनिक करिब ७० जना बिरामी आउने गरेको र तीमध्ये आधाभन्दा बढी ज्वरोका हुने गरेको जानकारी दिए ।

जिल्ला अस्पताल बैतडीमा समेत ज्वरोका बिरामीको संख्या बढेको छ । अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार दैनिक ४० भन्दा बढी बिरामी ज्वरोका हुन्छन् । उनले डेङ्गी र स्क्रबटाइफसका बिरामी पनि देखिन थालेको बताए ।

भाइरल ज्वरोका बिरामीमा ज्वरो बढ्ने, चिसो महसुस हुने, हल्का खोकी लाग्ने, घाँटी दुख्ने, हाँच्छिऊ आउने, नाकबाट पानी झर्ने, टाउको दुख्ने, शरीर तथा हाडजोर्नी दुख्ने जस्ता लक्षण देखिएको छ ।

स्वास्थ्यकर्मीहरूले मौसम परिवर्तनका कारण भाइरल संक्रमण बढेको जनाउँदै सावधानी अपनाउन आग्रह गरेका छन् । विशेष गरी पानी उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने, सफा–सुग्घर खानपानमा ध्यान दिनुपर्ने र आवश्यक परे तुरुन्त स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने सुझाव दिएका छन् ।

Loading...