

अत्तरिया- कृष्णपुर नगरपालिकाले मानसिक स्वास्थ्य सेवाको पहुँच सहज बनाउन काठमाडौं विश्वविद्यालय, मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र, धुलिखेल, काभ्रेसँग ऐतिहासिक सम्झौता गरेको छ । स्वास्थ्य सेवामा यो किसिमको सम्झौता काठमाडौं विश्वविद्यालय र कुनै पनि स्थानीय तहबीच पहिलो पटक भएको हो ।


सम्झौता अनुसार अब कृष्णपुर नगरपालिकाभित्र रहेका मानसिक स्वास्थ्य सम्बन्धी समस्याका बिरामीहरूले अनलाइन भिजुअल प्रविधि मार्फत विशेषज्ञ डाक्टरसँग परामर्श लिन सक्नेछन् । बिरामी स्वयं कृष्णपुर स्वास्थ्य चौकीमा उपस्थित भई, त्यहाँका मेडिकल अफिसरको सहयोगमा प्रत्यक्ष अनलाइन कुराकानी मार्फत काठमाडौं विश्वविद्यालयका मानसिक स्वास्थ्य विशेषज्ञसँग जाँच र परामर्श लिन सक्ने व्यवस्था मिलाइएको हो ।



हरेक शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म अनलाइन परामर्श सेवा सञ्चालन हुनेछ । साथै, काठमाडौं विश्वविद्यालय, मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र, धुलिखेलबाट विशेषज्ञ चिकित्सकको टोलीले प्रत्येक ३ महिनामा प्रत्यक्ष स्वास्थ्य परीक्षण गर्नेछन् ।
नगरपालिकाले मानसिक स्वास्थ्य समस्याबाट ग्रसित बिरामीहरूलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि मिलाएको छ । यसले आर्थिक कारणले उपचार पाउन नसकेका बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
नगर प्रमुख हेमराज ओझाको सचिवालयले यस सम्झौताप्रति खुसी व्यक्त गर्दै काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिसिनका एसोसिएट डिन डा. दिपक कुँवरलगायत सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गरेको छ ।
यस कार्यक्रमबाट कृष्णपुर नगरपालिकाभित्र मानसिक स्वास्थ्य सेवाको पहुँच अझ सहज, प्रभावकारी र व्यवस्थित हुने विश्वास लिइएको छ ।