कञ्चनपुर- कञ्चनपुरको दोधारा–चाँदनीका बाढीपीडितले सरकारले राहत वितरण मात्र गरेर काम चलाउनुभन्दा नदी किनारमा स्थायी तटबन्ध निर्माण गर्नुपर्ने माग गरेका छन् ।

आइतबारदेखि परेको अविरल वर्षापछि जोगबुढा नदीमा आएको बाढीले नगरपालिकाका वडा नं. ३, ८ र १० का बस्ती डुबानमा पारेपछि १५० भन्दा बढी स्थानीय विस्थापित भएका थिए । विद्यालयमा आश्रय लिन पुगेका पीडितहरू तीन दिनपछि घर फर्किए पनि घरभित्र हिलो जमेकाले बस्न सक्ने अवस्था छैन ।

‘एक बोरा चामल हामीलाई चाहिँदैन, बस्ती सुरक्षित बनाउन पक्की तटबन्ध चाहिन्छ,’ स्थानीय यमुना मगरले भनिन्, ‘हरेक वर्ष विस्थापित हुँदै आएका छौँ, अब स्थायी समाधान चाहिन्छ ।’

स्थानीयहरूको भनाइमा हरेक वर्ष बाढीले घर डुबाउँछ, खेतबारी नष्ट गर्छ र बालबालिकाको पढाइमा समेत असर पुर्याउँछ । राहतका नाममा खाद्यान्न र कपडा पाए पनि अर्को वर्ष उस्तै समस्या दोहोरिन्छ । स्थानीय तुलसा देवी तिरुवाले भनिन्, ‘बाढीले घरभित्र हिलो छ, बस्न सकिँदैन । विद्यालयसमेत बन्द छन्, हाम्रो माग राहत होइन, तटबन्ध हो ।’
यसै बाढीले दोधारा–चाँदनी–३ को पटेराखल्ला, वडा नं. ८ को रामपुरे टापुर जर्गा टोल र वडा नं. १० को शान्ति टोलका ५२ परिवारलाई विस्थापित बनाएको छ । साथै, सशस्त्र प्रहरीका दुई वटा सीमा प्रहरी पोस्ट (बिओपी) समेत डुबानमा परेका थिए ।
पीडितहरूले बुधबार नगरपालिकामा धर्ना दिँदै तटबन्ध निर्माणको माग गरेका छन्। नगर प्रमुख किशोर लिम्बूले पनि स्थायी समाधान तटबन्ध नै भएको स्वीकार गरे । ‘पालिकाको आफ्नै बजेटले सम्भव छैन, संघ र प्रदेश सरकारसँग समन्वय गरेर तटबन्ध बनाउने हो,’ उनले भने । उनका अनुसार गत वर्ष २० करोड रुपैयाँ प्राप्त भएपछि धेरै ठाउँमा तटबन्ध बनेको भए पनि केही स्थान बाँकी छ । बाँकी स्थानका लागि थप बजेट माग गरिएको उनले बताए ।
महाकाली र जोगबुढा नदीले घेरिएको दोधारा–चाँदनी नगरपालिका हरेक वर्ष बाढीबाट ठूलो मात्रामा प्रभावित हुँदै आएको छ । यस वर्ष पनि पीडितहरूले सरकारसँग दिर्घकालीन समाधानस्वरूप पक्की तटबन्ध निर्माण गर्न जोडदार माग गरेका छन् । रासस
