

कञ्चनपुर- वेदकोट नगरपालिका–६, मुसेपानीमा अवस्थित गणेश सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बृहत डेउडा प्रतियोगिता सुरु गरिएको छ । प्रतियोगिताको उद्घाटन वेदकोट नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा गरिएको थियो ।






कार्यक्रममा नगर उप–प्रमुख तुलसी जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने, बहुचर्चित डेउडिया कलाकार जे आर भट्ट पनि विशिष्ट अतिथि रहनु भएको थियो । साथै स्थानीय कलाकार, पत्रकार, सामाजिक अभियन्ता तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बोहराले सामुदायिक वनको पहलप्रति प्रशंसा गर्दै संस्कृतिको जगेर्ना र संरक्षणका लागि नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा उप–प्रमुख जोशीले डेउडा प्रतियोगिताले सामाजिक ऐक्यबद्धता र सामुदायिक सम्बन्ध बलियो बनाउन योगदान पुर्याउने बताउनुभयो ।
समुदायमा सांस्कृतिक विविधता जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यस डेउडा प्रतियोगितामा स्थानीय प्रतिभाले आफ्नो कला प्रस्तुत गरेका थिए । प्रतियोगिताले विशेषगरी युवा पुस्तामा परम्परागत संस्कृतिप्रति आकर्षण बढाउने र सामुदायिक एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरिएको थियो ।





