

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिका–३ स्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको वेदकोट ताल परिसरमा शिव पञ्चायन देवताको मन्दिर शिलान्यास गरिएको छ । नगरपालिकाको लगानीमा निर्माण हुन लागेको सो मन्दिरको शिलान्यास आदरणीय नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।


शिलान्यास कार्यक्रम अघि विशेष क्षमापूजा तथा धार्मिक विधि सम्पन्न गरिएको थियो । मन्दिर निर्माण कार्यलाई व्यवस्थित, सुरक्षित र दीगो बनाउन धार्मिक परम्परा अनुसार पूजापाठ गरेर कार्यको थालनी गरिएको आयोजक पक्षले जनाएको छ ।


कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मोहन बहादुर गुर्धामी, बैजनाथ–सिद्धनाथ धार्मिक ताल संरक्षण समितिका पदाधिकारी, तालसँग प्रत्यक्ष सरोकार राख्ने धार्मिक समूहका प्रतिनिधि तथा स्थानीय श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नगर प्रमुख बोहराले वेदकोट ताललाई धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको धरोहरका रूपमा संरक्षण र प्रवर्द्धन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले मन्दिर स्थापना भएपछि यहाँको धार्मिक पर्यटनको प्रवर्द्धन हुने, स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने र सांस्कृतिक गतिविधि अझ प्रवर्द्धित हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, वडा अध्यक्ष गुर्धामीले पनि ताल परिसरलाई व्यवस्थित र आकर्षक धार्मिक स्थलका रूपमा विकास गर्न सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने आश्वासन दिए । समितिका पदाधिकारीहरुले मन्दिर निर्माणले वेदकोट तालको गरिमा अझ उच्च बनाउने बताए ।
कार्यक्रममा सहभागी श्रद्धालु तथा उपस्थित सरोकारवालाहरुले मन्दिर निर्माणलाई सकारात्मक पहलका रूपमा स्वागत गर्दै धार्मिक स्थलको संरक्षण, स्वच्छता र व्यवस्थापनमा निरन्तर ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
धार्मिक विश्वासअनुसार बाबा बैजनाथले सम्पूर्ण भक्तजन र स्थानीय बासिन्दाको रक्षा गर्ने तथा समाजमा शान्ति, सद्भाव र समृद्धि ल्याउने विश्वास गरिएको छ ।





