

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको बास्कोटास्थित श्री नवकुञ्ज मन्दिरमा सोमबार गौरा पर्वको अवसर पारेर भजन–कीर्तन तथा देउडा कार्यक्रम सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रम धार्मिक जागरण, सामाजिक एकता तथा सुदूरपश्चिमको मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको हो ।


आयोजक समितिका अनुसार हिन्दू परम्पराअनुसार देवी–देवताको भजन–कीर्तन, पूजा–आराधना गरी उनीहरूलाई प्रसन्न बनाउने र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने सोचका साथ यो कार्यक्रम गरिएको हो । गौरा पर्व विशेष गरी भगवान शिव र देवी पार्वतीको पूजा–आराधनासँग सम्बन्धित छ । यस पर्वमा महिलाहरूले व्रत बसेर समूहमा भेला भई शिव–पार्वतीको मूर्ति टाउकोमा राखी, फाग गीत गाएर नाचगान गर्दै पर्व मनाउने परम्परा रहेको छ ।



मन्दिरका अध्यक्ष टिकाराम जोशीले कार्यक्रमबारे बोल्दै भने, “सुदूरपश्चिमको मौलिक संस्कृतिलाई जोगाउने यो कार्यक्रम एउटा सानो पाइला हो । केवल एक ठाउँमा मात्र होइन, सिंगो क्षेत्रमा यस्ता आध्यात्मिक तथा सांस्कृतिक गतिविधिहरू निरन्तर गर्न आवश्यक छ । नवकुञ्ज मन्दिरले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।”
गौरा पर्वसँगै देउडा कार्यक्रम पनि आयोजना गरिएको थियो । देउडा गीत सुदूरपश्चिमको मौलिक सांस्कृतिक सम्पदा हो, जसले मनोरञ्जन दिनुका साथै समाजका विकृति, कुप्रथा र राजनीतिक विसंगति माथि व्यङ्ग्यात्मक चोट गर्ने माध्यमको रूपमा पनि काम गर्छ । गौरा पर्वको अवसरमा मात्र नभई विवाह, उत्सव तथा अन्य चाडपर्वहरूमा पनि देउडा कार्यक्रम आयोजना गर्ने परम्परा रहँदै आएको छ ।
सुदूरपश्चिमका जिल्लाहरूमा गौरा पर्वलाई अत्यन्तै ठूलो पर्वका रूपमा मनाइन्छ । यस पर्वलाई सरकारले सार्वजनिक बिदा दिने गरेको छ । प्रायः ८ देखि १० दिनसम्म मनाइने यस पर्वमा पाँचवटा अन्न (धान, गहुँ, कोदो, मकै र गहत) मिसाएर भिजाइन्छ र टुसा उम्रेपछि त्यसलाई बिरुडा भनिन्छ । यस बिरुडा आफैं मात्र नखाई छिमेकी, आफन्तसँग बाँड्ने परम्परा छ, जसले सामाजिक सद्भाव र सहकार्यलाई बल पुर्याउँछ ।
हालको पुस्तामा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गएको सन्दर्भमा गौरा र देउडा जस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण अपरिहार्य रहेको बताइन्छ । यसरी आयोजना गरिने कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृति र परम्पराबारे जानकारी दिने मात्र नभई सामुदायिक एकता, धार्मिक चेतना र सामाजिक सौहार्द अभिवृद्धि गर्ने अपेक्षा राखिएको छ ।