अत्तरिया– चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि लामो समयदेखि संघर्षरत प्रा.डा. गोविन्द केसीले फेरि सत्याग्रहमा बस्ने घोषणा गरेका छन् । उनले निजी मेडिकल कलेजका सिट बढाउने सरकारको निर्णय खारेज गर्न र देशभरका सरकारी मेडिकल कलेज तथा अस्पताल तत्काल सञ्चालनमा ल्याउन माग गर्दै कैलालीको गेटामा आइतबारदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

डा. केसीका अनुसार करिब दुई दशकदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर उकास्ने तथा सर्वसाधारणलाई पहुँच दिलाउने उद्देश्यसहित निरन्तर आन्दोलन हुँदै आएको भए पनि हालै सरकारले लिएका केही निर्णयहरूले चिकित्सा शिक्षा ऐनको मर्म नै धरापमा पारेको छ ।

विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष हस्तक्षेपका कारण चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने गैरजिम्मेवार निर्णय गरेको उनको आरोप छ ।

उनले त्रिवि शिक्षण अस्पताल जस्तो सक्षम र पुरानो संस्थाले आधारभूत पूर्वाधार अभाव र बिरामी चापको कारण १०० विद्यार्थी मात्रै भर्ना गर्ने निर्णय गर्दा, पर्याप्त पूर्वाधार नभएका निजी कलेजलाई १३० सिट दिने निर्णय दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । डा. केसीका अनुसार यस्तो निर्णयले चिकित्सा शिक्षाको गुणस्तर खस्काउने मात्र नभई आम नेपालीको स्वास्थ्य अधिकारमाथि प्रत्यक्ष प्रहार हुनेछ ।
डा. केसीले लामो समयदेखि अलपत्र अवस्थामा रहेका सरकारी मेडिकल कलेज र अस्पताललाई तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । विशेषगरी इलाम, उदयपुर, डडेलधुरा जिल्लामा स्थापना गरिएका मेडिकल कलेज तत्काल सञ्चालन गर्नुपर्ने र कैलालीको गेटा मेडिकल कलेजलाई पूर्ण रूपमा सेवा विस्तार गरी जनताको पहुँचमा ल्याउनुपर्ने उनले जोड दिएका छन् ।
आफ्नो घोषणामा डा. केसीले भारतले लिपुलेक हुँदै व्यापार गर्ने सहमति गरेको समाचारप्रति आपत्ति जनाएका छन् । उनले नेपालको भूमि मिचाइ तत्काल रोक्न माग गर्दै राष्ट्रहितलाई उपेक्षा नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
त्यस्तै उनले रुसद्वारा युक्रेनमाथि भएको आक्रमण र इजरायलद्वारा गाजा माथि भएको आक्रमणलाई मानवताविरोधी अपराधको संज्ञा दिँदै ती युद्धहरू तत्काल रोक्नुपर्नेमा जोड दिएका छन् ।
डा. केसीका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएका निर्णयहरूमा आम नागरिकको हितभन्दा नेताहरू र माफियाको स्वार्थलाई प्राथमिकता दिइएको छ । यस्तो प्रवृत्तिको विरोधमा आफू पुनः सत्याग्रह गर्न बाध्य भएको उनको भनाइ छ ।
