सुदूरपश्चिममा गौरापर्वको मुख्य दिन दुर्वाष्टमी धूमधामका साथ मनाइँदै

बैतडी- बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आज गौरापर्वको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावली धूमधामका साथ मनाइँदैछ। हिजो साँझ गौराघरमा भित्र्याइएको गौरालाई आज बिहानैदेखि महिलाहरूले गौराखला (मन्दिरको आँगन)मा लैजाई विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ।

Ganyapdhura gau

पण्डित जयानन्द भट्टका अनुसार बर्तालु महिलाले आज दिनभर बिरुडाले फाग गाई गौरा देवीको पूजा गर्ने गरेका छन्। गौरादेवीमा चढाइएको दुबधागो (मन्त्रिएको पवित्र धागो) पनि आजै महिलाले धारण गर्ने परम्परा छ। पुरुषले जनै धारण गरेजस्तै महिलाले दुबधागो लगाउने प्रचलनले यस पर्वलाई अझ विशेष बनाएको पाइन्छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा लैजाने, सामूहिक रूपमा अठ्यावली गाउँदै पूजन गर्ने तथा गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत धार्मिक प्रसङ्ग फागमार्फत वर्णन गर्ने चलन छ। पूजन सकिएपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडा आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको दीर्घायुको कामना गर्दै टाउकोमा पुज्ने प्रचलन रहिआएको छ।

यसैदिन पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक सांस्कृतिक खेलहरू खेल्दै पर्वलाई मनोरञ्जनमय बनाउने गर्छन्। संस्कृतिविद् आचार्य विष्णुदत्त भट्टका अनुसार गौरापर्व अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुखशान्तिको कामना गर्दै महिलाले व्रत बस्ने महत्वपूर्ण पर्व हो।

सुदूरपश्चिमेली समाजमा गौरालाई दसैँभन्दा पनि बढी महत्वका साथ मनाउने परम्परा छ। यही कारणले परदेशमा रहेका मानिस पनि गौराको अवसरमा घर फर्कने, विवाहित चेलीहरू माइत आउने तथा परिवारमा भेटघाट हुने चलन रहिआएको छ।

यसैबीच गौरापर्वकै अवसरमा प्रदेशमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। नेपाल सरकारले आइतबार भदौ १५ गते र प्रदेश सरकारले सोमबार भदौ १६ गते बिदा घोषणा गरेपछि सुदूरपश्चिममा निरन्तर दुई दिन सार्वजनिक बिदा कायम भएको हो।

Couple
Loading...