लक्ष्मी भट्ट/अत्तरिया- १८ औँ राष्ट्रिय पुस्तकालय दिवस २०८२ तथा गौरा पर्वको शुभ अवसरमा प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरियाले शनिबार देउडा कार्यक्रमको आयोजना गरेको छ । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको मुख्य प्रबर्द्धन र प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाको आयोजनामा अत्तरियामा लाइभ डेउडा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशी, विशिष्ट अतिथि पूर्व सामाजिक विकास मन्त्री कृष्ण सुवेदी, पूर्व नगरप्रमुख रत्न कडायत तथा गोनपा–१ का वडाध्यक्ष गोपाल दत्त भट्ट लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव राजबहादुर कडायतले गरेका थिए ।

चर्चित देउडा कलाकार ममता धामी र दीर्घराज फुलाराबीच प्रतिस्पर्धात्मक देउडा प्रस्तुत भएको कार्यक्रमले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । कार्यक्रममा स्थानीय संस्कृति, साहित्यप्रेमी तथा समाजसेवीको उल्लेख्य सहभागिता रहेको थियो ।
अध्यक्ष जोशीले आफ्नो सम्बोधनमा २०६४ सालदेखि नै पुस्तकालय दिवस मनाउन थालिएको उल्लेख गर्दै भने,“पुस्तकालय ज्ञानको ज्योति हो, जहाँ ऐतिहासिक, साहित्यिक, धार्मिक तथा ज्ञानवर्धक पुस्तकहरूको भण्डार पाइन्छ । हामीले यस्ता पुस्तकहरू पढेर आफ्नो ज्ञान बढाउन सक्छौँ । त्यसैले पुस्तकालय दिवसलाई बेवास्ता गर्नु हुँदैन ।”

उहाँले गौरा पर्व जस्ता मौलिक पर्वलाई प्रचार–प्रसार गर्ने माध्यमका रूपमा देउडा कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै पुस्तकालयले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रमुख अतिथि डा. जोशीले पुस्तकालय दिवसको अवसरमा देउडा र गौरा पर्वलाई जोडेर प्रस्तुत गरिएको कार्यक्रम ऐतिहासिक रहेको बताए । उहाँले भने, “सुदूरपश्चिममा गौरा र देउडा हाम्रो मौलिक संस्कृतिको पहिचान हुन् । तर काठमाडौँमा बस्ने कतिपयले गौरा र देउडा एउटै हुन् कि जस्तो ठान्छन् । यसलाई प्रस्ट पार्दै यसको संरक्षण र संवर्द्धन गर्नु आजको आवश्यकता हो।”
गौरा र देउडालाई सुदूरपश्चिमको मौलिक सांस्कृतिक धरोहरका रूपमा संरक्षण र संवर्द्धन गर्न सबैको भूमिका अपरिहार्य रहेको बताए । उहाँले अध्यक्ष जोशीको दूरदर्शिता र पुस्तकालयको सांस्कृतिक सक्रियताको प्रशंसा गर्दै कलाकारहरूको योगदानलाई पनि सम्मान गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममार्फत पुस्तकालय दिवसलाई ज्ञानप्रति आस्था बढाउने माध्यम र गौरा पर्वलाई सांस्कृतिक पहिचान मजबुत पार्ने अवसर दुवै रूपमा प्रयोग गरिएको थियो । सहभागीहरूका अनुसार यस्ता कार्यक्रमले स्थानीय संस्कृतिलाई मात्र संरक्षण गर्दैन, भावी पुस्तामा गौरवपूर्ण परम्पराको जग बसाल्ने कार्य पनि गर्छ ।
