सुदूरपश्चिम सरकारले ३० लाख बराबरका सामग्री ट्राफिक प्रहरीलाई हस्तान्तरण

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले करिब ३० लाख रुपैयाँ बराबरका विभिन्न सामग्री सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ।

शनिबार धनगढीमा आयोजित कार्यक्रममा कानुन मन्त्री हिरा सिंह सार्कीले प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रेम शाहीलाई सामग्रीहरू औपचारिक रुपमा हस्तान्तरण गरेका हुन्।

Navadurga sun

हस्तान्तरण गरिएको सामग्रीमा डकिङ स्टेशन र भण्डार प्रणाली, प्रिन्टरसहितको ब्रेथलाइजर, फ्लोरोसेन्ट ज्याकेट, दुई टन क्षमताको एसी, बडी वर्न क्यामेरा, म्याजिक लाइट लगायतका उपकरणहरू रहेका छन्। यी सबै सामग्री ट्राफिक सुरक्षासम्बन्धी कामलाई सहज बनाउन र आधुनिक प्रविधिको प्रयोगमार्फत सेवामा गुणस्तर वृद्धि गर्न लक्षित गरिएको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा मन्त्री सार्कीले मन्त्रालय र प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने,
“हामीले उपलब्ध गराएको सामग्रीलाई ट्राफिक प्रहरीले सही सदुपयोग गर्नेछ भन्ने विश्वास लिएका छौँ। आगामी दिनमा पनि आवश्यक सामग्री र भौतिक पूर्वाधार निर्माणका लागि मन्त्रालय निरन्तर सहयोग गर्न तयार रहनेछ।”

उनले ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन मन्त्रालयले विभिन्न कार्यक्रम अघि सारेको समेत जानकारी दिए।

यसैबीच, प्रदेश ट्राफिक प्रहरी प्रमुख शाहीले प्राप्त सामग्रीले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले मन्त्री तथा मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै यी सामग्रीलाई प्रदेशका विभिन्न जिल्ला र आवश्यक स्थानमा छिट्टै वितरण गर्ने बताए।

यसअघि पनि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीसँग साझेदारीमा क्षमता अभिवृद्धि, तालिम तथा प्रविधिजन्य सहयोग गर्दै आएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...