गोदावरी नगरपालिकाद्वारा २ सय बढी गाईबस्तुको व्यवस्थापन

गाई संरक्षणदेखि मल–मुत्र आपूर्तिसम्म : गोदावरीको दीर्घकालीन योजना

अत्तरिया- तराईका जिल्लामा दशकौँदेखि समस्या बनेको छाडा पशु चौपायाको व्यवस्थापनका लागि गोदावरी नगरपालिकाले आफ्नै गौशालामा गाईबस्तु राख्ने कार्य औपचारिक रूपमा सुरु गरेको छ।

नगरपालिकाको वडा नं. ७ अन्तर्गत गोलादेवी सामुदायिक वनको बीचमा रहेको मन्दिर परिसरमा व्यवस्थित रूपमा निर्माण गरिएको गौशालामा बिहीबार बिहानैदेखि सडकमा हिँडिरहेका गाईबस्तु सङ्कलन गरी ल्याउने काम भएको हो। यस अभियानमा नगर प्रहरी, नगरपालिका कर्मचारी, गौशाला व्यवस्थापन समिति तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।

Navadurga sun
Godawari sandesh

नगर प्रहरी प्रमुख सन्धु चौधरीका अनुसार, पहिलो चरणमा अत्तरिया बसपार्क, गोदावरी रोड, अत्तरिया चोक, चौकी डाँडा सडकखण्ड र धनगढी जाने मुख्य सडकमार्गबाट २०० भन्दा बढी गाईबस्तु सङ्कलन गरी गौशालामा सुरक्षित राखिएको छ।

Dadeldhura hospital

स्थानीय बासिन्दाले लामो समयदेखि छाडा गाईबस्तुका कारण सडक दुर्घटना, किसानको बालीमा क्षति, र मरेका पशुका कारण दुर्गन्ध फैलिने समस्या भोग्दै आएका थिए। यस कदमले यी समस्या न्यूनीकरण हुने विश्वास लिइएको छ।

नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, गौशाला केवल गाई संरक्षणका लागि मात्र नभई दीर्घकालीन रूपमा कृषि क्षेत्र र रोजगार सिर्जनामा समेत योगदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो। “किसानहरू मलको अभावमा छन्। गौशालाबाट उत्पादन हुने मल र मूत्रले कृषकलाई ठूलो राहत दिनेछ। यसैमार्फत नगरवासीका लागि रोजगारी सिर्जना हुनेछ,” उनले भने ।

भट्टले थपे, “गाई हाम्रो राष्ट्रिय जनावर हो । हिन्दू संस्कृतिमा गाईलाई पूजनीय मानिन्छ। तर पछिल्लो समय सडकमा छाडेर हेला गरिएको देख्दा दुःख लाग्दो अवस्था थियो । ढिला भए पनि अब हामीले गौशाला सञ्चालन गरेर संरक्षण गर्ने प्रयास सुरु गरेका छौं ।”

गोदावरी नगरपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सुरु गरेको यो गौशाला परियोजनालाई स्थानीय समाज, धार्मिक गुरु योगी पिताम्बर लगायतको पनि साथ र समर्थन रहेको जनाइएको छ ।

यस पहलले नगरभित्रका छाडा गाईबस्तु व्यवस्थापन मात्र नभई ग्रामीण कृषि क्षेत्रमा जैविक मल आपूर्ति, रोजगारी सिर्जना र नगरलाई सफा र सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Loading...