कैलाली- कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटामा काँडा नदी किनारमा बाढी र डुबान जोखिम न्यूनीकरणका लागि सामुदायिक जैविक तटबन्ध निर्माण गरिएको छ।

भजनी नगरपालिका समन्वय, कियाको आर्थिक सहयोग तथा वहुउद्देश्यीय विकास समाज (एमपीडीएस) डडेल्धुराको पहलमा सञ्चालित बाढी तथा पहिरो प्रभावित जनताका लागि आपतकालीन सहयोग परियोजनाअन्तर्गत तटबन्ध बनाइएको हो।


प्रत्येक वर्ष काँडा नदीमा आएको बाढीले बस्ती डुबानमा पार्ने र सयौँ रोपनी खेतीयोग्य जमिन कटान गर्ने भएकाले यस वर्ष पनि उच्च जोखिम देखिएपछि स्थानीय स्रोत साधनको प्रयोग गरी करिब ३४.५ मिटर लम्बाइको तटबन्ध निर्माण गरिएको हो।
उक्त तटबन्धबाट बर्दवाफाँटाका ९० घरपरिवारका करिब ३६० जना प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। यसका लागि भजनी नगरपालिकाबाट १ लाख रुपैयाँ, एमपीडीएस डडेल्धुराबाट १ लाख ३० हजार रुपैयाँ र स्थानीयवासीको श्रमदानमार्फत तटबन्ध निर्माण सम्पन्न गरिएको हो।
नगर प्रमुख केवल चौधरीले अनुगमनका क्रममा स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धिका लागि यो कार्य महत्वपूर्ण भएको बताए। वडा नं. ३ का अध्यक्ष विक्रम चौधरी, विपद् फोकल पर्सन विष्णु न्यौपाने तथा विपद् व्यवस्थापन समिति टास्कफोर्सका अध्यक्ष सविता काफ्लेलगायतले पनि तटबन्धले बस्ती र खेती कटानीबाट जोगाउने विश्वास व्यक्त गरे।
