
अत्तरिया- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयक २०८० का प्रावधानहरू निजी विद्यालयको हितविपरीत रहेको भन्दै देशभर विरोध कार्यक्रम सम्पन्न गरेको छ।




गोदावरी सहित विभिन्न स्थानमा विद्यालयका सवारीसाधनमा कालो ब्यानर टाँसी सडक परिक्रमा गरिएको थियो। स्कुल बसहरू प्रतिघण्टा २० किमीको गतिमा बिस्तारै परिक्रमा गरी गोदावरी नगरपालिकाको गेटा, स्याउले बजार, तेघरी, चौकीडाँडा हुँदै अत्तरिया नगर घुमाइएको थियो।
प्याब्सन गोदावरीका अध्यक्ष मदन जोशीका अनुसार, केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार देशभर पालिकामा ज्ञापनपत्र बुझाउने अभियानपछि आज सडक परिक्रमा गरिएको हो।
प्याब्सनले शिक्षा विधेयकमा गैर–नाफामूलक बनाउनुपर्ने प्रावधान हटाउन, “पूर्ण छात्रवृत्ति” भन्ने शब्दावली संशोधन गर्न, हाल प्रचलित १० प्रतिशत छात्रवृत्ति प्रावधानलाई निरन्तरता दिन र छात्रवृत्तिमा केवल भर्ना, वार्षिक तथा मासिक शुल्क मात्र समावेश गर्नुपर्ने माग गरेको छ।
केन्द्रीय उपाध्यक्ष जगबीर थापाले प्रस्तावित १५ प्रतिशत छात्रवृत्तिमा बसोबास, पोसाक र खानपानसम्म समावेश गर्ने प्रावधान व्यावहारिक नभएको बताए। उनले यसले संस्थागत विद्यालयलाई आर्थिक संकटमा पार्ने चेतावनी दिए।
सत्यवती एकेडेमीका संचालक बिर बहादुर कडायताले ५२ वर्षपछि ल्याउन लागेको शिक्षा ऐनले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै विरोध गरिएको बताए। उनका अनुसार माग सम्बोधन नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाइनेछ।


