शहीद दशरथ चन्द विश्वविद्यालयः संघर्ष समितिद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ज्ञापन–पत्र, छिट्टै सञ्चालन हुने मुख्यमन्त्रीको प्रतिबद्धता


अत्तरिया- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विशेष ज्ञापन–पत्र बुझाउँदै विश्वविद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ।


संयोजक लोकराज पाण्डेय (आगो), सह–संयोजक आनन्दप्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरको नेतृत्वमा पुगेको समितिले प्रतिनिधि सभा र राष्ट्रपतिबाट प्रमाणित भइसकेको विश्वविद्यालय ऐनअनुसार अझै विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्ति नभएको भन्दै कार्यान्वयनमा ढिलाइ भइरहेको गुनासो गरेको हो।



ज्ञापन–पत्रमा यस विश्वविद्यालयले रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रूपान्तरणमा ठूलो योगदान पुर्याउने भएकाले यसलाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने उल्लेख छ। समितिले यसै आर्थिक वर्षभित्र एमबीबीएस तहमा विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्नुपर्ने, ६०० शैयाको अस्पताल योजना अन्तर्गत तत्काल कम्तीमा ३०० शैयाको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने, आवश्यक बजेट र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले पहल गर्नुपर्ने माग राखेको छ।
मुख्यमन्त्री शाहले ज्ञापन–पत्र ग्रहण गर्दै विश्वविद्यालय सञ्चालनका पक्षमा आफू प्रतिबद्ध रहेको बताए। उनले भने,
“शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय केवल सुदूरपश्चिमकै नभई सम्पूर्ण देशकै गौरव हो। यसको छिटो सञ्चालनका लागि प्रदेश सरकार आवश्यक समन्वय र पहल गर्न तयार छ।”
उनले केन्द्र सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा गतिशीलता ल्याउने आश्वासन दिएका छन्।