

अत्तरिया- नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् । कैलालीको अत्तरियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले संविधान संशोधन गर्ने वातावरण नबनेको बताए।



उनका अनुसार ५–६ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुने भएकाले त्यसबेला कांग्रेस–एमाले मिलेर बहुमत सुनिश्चित गर्ने र त्यसपछि संविधान संशोधनतर्फ जाने योजना छ। उनले सरकार नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार अघि बढिरहेको दाबी गरे।


पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा ल्याउनु माओवादी केन्द्रको गल्ती भएको भन्दै उनले आलोचना गरे । पोख्रेलले राष्ट्रपति वा उपराष्ट्रपति जस्ता सर्वोच्च संवैधानिक पदमा पुगिसकेपछि त्यस पदको गरिमा कायम राख्नुपर्नेमा जोड दिए ।





