

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउस मार्फत ३७ जना अनाथ तथा टुहुरा बालबालिकाको हेरचाह भइरहेको छ । वि.सं. २०७३ असार ११ गते स्थापना भएको संस्थाले सुरुवातमा २ जना बालबालिकाबाट सेवा सुरु गरेको हो ।



संस्थाकी अध्यक्ष जानकी मलासीले अभिभावकको जिम्मेवारी बहन गर्दै बालबालिकालाई दिनरात सेवा दिइरहेकी छन् । अहिलेसम्म ४९ जना बालबालिका पुनःस्थापित भइसकेका छन् । ती मध्ये १ जना बैंकमा कार्यरत, १ जना वकिल अध्ययनरत, १ जना गायक बनेका छन् भने १९ जना भारतमा रोजगारीमा छन् ।


सुरुमा ‘मुठीदान’ अभियान मार्फत चामल संकलन गरी सञ्चालन गरिएको सेभ हाउसलाई गोदावरी नगरपालिकाले हाल हरेक वर्ष ४ लाख रुपैयाँ सहयोग गर्दै आएको छ । भवन निर्माणका लागि प्रदेश सरकारबाट ३० लाख र नगरपालिकाबाट १० लाख रुपैयाँ छुट्याइए पनि स्थानीयको विरोधका कारण बजेट ‘फ्रिज’ भएको छ ।
हाल सेभ हाउस पद्मा अस्पतालको खाली भवनमा निःशुल्क रूपमा सञ्चालन भइरहेको छ ।