सुदूरपश्चिम सरकारले लगानी सम्मेलनका लागि ४५ प्रारम्भिक परियोजना पहिचान गर्‍यो

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिर १ र २ गते आयोजना गर्न लागेको प्रदेश लगानी तथा विकास सम्मेलनका लागि ४५ वटा प्रारम्भिक परियोजना पहिचान गरेको छ ।

यी परियोजनाहरू स्थानीय तह, निजी क्षेत्र, एशियाली विकास बैंक (एडीबी) तथा प्रदेशका विभिन्न मन्त्रालयबाट सिफारिस भई आएका हुन् । परियोजना पहिचान तथा विकास उपसमितिका सदस्यसमेत रहेका प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारका अनुसार परियोजनाहरू कृषि, ऊर्जा, पर्यटन, उद्योग, शिक्षा, सूचना प्रविधि, वन लगायत विभिन्न क्षेत्रबाट छनोट गरिएका छन् ।

Navadurga sun

“हाल ती परियोजनाहरूको विस्तृत अध्ययन तथा अनुसन्धान भइरहेको छ,” सुनारले बताए, “अध्ययनपछि तीमध्ये उपयुक्त परियोजनाहरूमा प्राथमिकता निर्धारण गरेर अगाडि बढाइनेछ ।”

लगानी सम्मेलनको तयारीलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरिए पनि तयारी नपुगेको भन्दै सम्मेलनको मिति पटक–पटक सारिँदै आएको छ । सुरुमा सम्मेलन २०८० फागुन २३ र २४ गतेका लागि तय गरिएको थियो । त्यसपछि असोज १ र २ मा गर्ने भनिएकोमा हाल आएर मंसिर १ र २ मा गर्न लागिएको हो ।

प्रदेश सरकारले सम्मेलनमार्फत विदेशी तथा स्वदेशी निजी क्षेत्रको लगानी आकर्षित गर्ने, स्थानीय स्रोतको उपयोग बढाउने र समृद्धि हासिल गर्ने लक्ष्य लिएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...