धनगढी- कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–चीन सीमामा पर्ने मुगु जिल्लाको नाक्चेलाग्ना नाका आगामी साउन २५ गतेदेखि भदौ १० गतेसम्म दुई साताका लागि खुला गरिने भएको छ।


प्रमुख जिल्ला अधिकारी कमल प्रशाद पाण्डेका अनुसार, गृह मन्त्रालयको निर्देशनअनुसार चीनको स्वशासित ह्यजिमार क्षेत्रमा आयोजना गरिने द्विपक्षीय व्यापार मेलाका लागि नाका खुला गरिनेछ। यस अवधिमा नेपाल र चीन दुबै देशका नागरिकहरूले सीमावर्ती क्षेत्रमा आवतजावत गर्न पाउनेछन्।


नेपालतर्फ सीमा पास नवीकरण र नयाँ अनुमति लिनेहरूको संख्या हालसम्म ५०० पुगेको छ। नाका खुला रहने अवधिभर नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले सुरक्षा व्यवस्था मिलाउने जानकारी दिइएको छ।

नाक्चेलाग्ना नाका वर्षमा एकपटक मात्र खुल्ने गर्दछ। यहाँबाट मुगुका साथै छिमेकी जिल्लाहरू जुम्ला र हुम्लाका बासिन्दा घरायसी सामग्री किनमेल गर्न ह्यजिमारको हाटबजारसम्म पुग्ने गरेका छन्। सो बजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, चामल, छुर्पी, चिया, घ्यु, लत्ताकपडा लगायतका सामग्री किनबेच हुने गर्दछ।
मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाका अनुसार, नाका वर्षमा केवल एकपटक खोलिनु पर्याप्त नभएकाले छ महिनासम्म सञ्चालन गर्नका लागि चीनस्थित दूतावास र नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई तीन वर्षअघि पत्राचार गरिए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको गुनासो रहेको छ।
हाल नाका क्षेत्रसम्म सडक सुविधा अभाव रहेकोले व्यापारका लागि घोडा, खच्चर र चौरीगाईको प्रयोग हुँदै आएको छ। गमगढी–नाक्चेलाग्ना सडक सन् २०६३ सालदेखि निर्माण सुरु भए पनि अहिलेसम्म जम्मा १७ किलोमिटरको मात्र ट्रयाक खोलिएको छ। कुल दूरी ८७ किलोमिटर रहेको उक्त सडक सम्पर्कमार्ग निर्माण अधुरो रहेको छ।
नाक्चेलाग्ना नाका नेपालतर्फको मुगुमकार्मारोङ गाउँपालिका र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु क्षेत्रलाई जोड्ने नाका हो ।