

धनगढी- नागरिक उन्मुक्ति पार्टीकाे अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको छ । पार्टीकाे राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको हो ।


त्यसअघि मङ्गलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर बुधवार काठमाडौंमा आयोजित भेलाले अध्यक्ष श्रेष्ठलाई हटाउने निर्णय गरेको पार्टीले बताएकाे छ ।



पार्टी नेताहरुका अनुसार तीन सदस्यीय अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक, पुन्नबहादुर बुढा र सुनिता चौधरी सदस्य छन् । सुनिता चौधरी भने आर्थिक अनियमितताको अभियोगमा हाल कञ्चनपुरमा थुनामा छिन् ।
अध्यक्षसहित २१ जना केन्द्रीय सदस्य रहेको पार्टीमा बुधवार आयोजित राष्ट्रिय भेलामा १२ जनाको उपस्थिति थियो। यस्तै भेलाका प्रतिनिधिहरुमा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बोलाइएको थियो । भेलाले अध्यक्ष श्रेष्ठमाथि पाँच वटा कारण देखाएर कारबाही गरेको सहभागी नेताहरुले बताएका छन् ।
बैठक नबोलाएको, स्पष्टीकरण नबुझाएको, कार्यवाहक तोकेको, पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरणमा मुछिएको र पार्टीको विधिविधान मिचेको आरोप श्रेष्ठलाई लगाइएको छ ।