कञ्चनपुर- गत असार अन्तिम साता छाउ बार्न छाउगोठमा बसेकी कृष्णपुर–१, निगालीकी २८ वर्षीया कमला आउजी (दमाईं) को निधन भएपछि कञ्चनपुरका स्थानीय सरकार छाउगोठ भत्काउन लागिपरेका छन् । पक्की घर भए पनि कुरीति अन्धविश्वासका कारण कमलाले अकालमै ज्यान गुमाएको भन्दै स्थानीय सरकार छाउगोठ भत्काउन अघि सरेका हुन् । २८ असार ०८२ मा कमलाले ज्यान गुमाएकै गोठ उतिबेलै भत्काएदेखि अहिले पनि कृष्णपुरमा निरन्तर गोठ भत्काउने क्रम जारी छ ।
जिल्लाका दुई पालिकाले छाउगोठ भत्काउने अभियान निरन्तर जारी राखेका हुन् । कृष्णपुर नगरपालिका– १ का वडाध्यक्ष मोहन बस्नेतले पालिका सहितको टोलीले हालसम्म १७ छाउगोठ भत्काएको बताए । बेदकोट नगरपालिकाले पनि गोठ भत्काउन सुरु गरेको छ।

बेदकोट नगरपालिका– १० का वडाध्यक्ष रतनसिंह विष्टले एकैदिन २० गोठ भत्काएको जानकारी दिए । कृष्णपुरका मेयर हेमराज ओझाले छाउगोठ भत्काउने कार्य निरन्तर चलिरहेको बताए । यता बेदकोट नगरका मेयर भोजराज बोहराले छाउगोठ भत्काउन वडा समितिलाई निर्देशन दिएको बताए । गोठ भत्काउनेसँगै सचेतना कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
३० साउन ०८२ मा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउगोठ भत्काउन ९ वटै पालिकालाई निर्देशन दिएको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले दुई पालिका बेदकोट र कृष्णपुरले गोठ भत्काउन सुरु गरेको र अन्य पालिकाले पनि भत्काउनुपर्नेमा जोड दिए ।
प्रजिअ ढकालले गोठसँगै वषौँदेखि मानिसको मानसिकतामा जकल्टिएको रुढीवादी सोच हटाउनुपर्ने सुझाव दिँदै सरकारी निकायदेखि सरोकारवालाले सामाजिक सचेतना बढाउनुपर्ने बताए ।
