गोदावरीमा राजधानी स्थापनाको माग गर्दै सर्वपक्षीय भेला: दबाबमूलक कार्यक्रमको तयारी

अत्तरिया- सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमै स्थापना गरिनुपर्ने मागसहित भोलि साउन १२ गते एक सर्वपक्षीय भेला तथा सम्मेलन आयोजना गरिने भएको छ । सो जानकारी गराउन आज जय गोदावरी स्वतन्त्र नागरिक अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र नागरिक अभियानका संयोजक धनबहादुर बोकटीले २०७५ साल असोज १२ गते प्रदेशको राजधानी गोदावरीको वडा नं. २ र ४ मा दुई तिहाई बहुमतले तोकिएको भए तापनि सात वर्षसम्म कार्यान्वयन नहुनु दुःखद भएको बताए । उनले हाल राजधानी धनगढीतर्फ सार्ने षड्यन्त्र भइरहेकाले त्यसविरुद्ध व्यापक जनसङ्घर्ष आवश्यक भएको उल्लेख गरेका हुन् ।

Navadurga sun

“अब समय आएको छ कि जनताले खबरदारी गर्नुपर्छ । हामी भोलिदेखि संघर्ष समिति गठन गरेर परिणाम नआउञ्जेलसम्म आन्दोलन जारी राख्नेछौं,” बोकटीले भने ।

पत्रकार सम्मेलनको मूल नारा ‘सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको स्थानमा यथाशीघ्र कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम’ रहेको छ ।

कार्यक्रममा सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, समाजसेवी र गोदावरी प्रेमीहरूलाई भोलिको भेलामा सहभागी भई गोदावरीको पक्षमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ । वक्ताहरूले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत राजधानी गोदावरीमै कायम गर्न दबाब सिर्जना गर्न आग्रह गरेका हुन् ।

उनले भने, “राजधानी उपयुक्त स्थानमै छ । अनेक बहानामा राजधानी सार्ने प्रयास गोदावरी बासीहरूको अधिकार माथिको प्रहार हो ।”

ADD Khali jpg
Loading...