कञ्चनपुरको गड्डाचौकी भन्सारबाट निर्यात शून्य

कञ्चनपुर- कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य रहेको छ । कोरोना महामारी अघिसम्म न्यून मात्रामा भए पनि यहाँबाट घ्यू र हातले बनाएका सामग्री निर्यात हुने गरेको थियो । 

पछिल्ला वर्षमा यो नाका भएर निर्यात हुन छाडेको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले जानकारी दिए । शारदा ब्यारेजमा १० टनभन्दा बढीको मालवाहक सवारीसाधन आवतजावत गर्न नदिनु, सीमित समयका लागि पुल खोल्नु लगायत कारणले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको भन्सार कार्यालयमा निर्यात शून्य रहेको उनले बताए । 

Navadurga sun

“कोरोना अघिसम्म थोरै भए पनि निर्यात हुन्थ्यो, अहिले नगन्य मात्रामा छ, शून्य जस्तै छ”, उनले भने । प्रमुख काफ्लेले यो नाका सानो भएका कारण आयातबाट समेत लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन ।

उनले आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यको ८० प्रतिशत मात्रै राजस्व सङ्कलन हुन सकेको बताए । “गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ७७ लाख राजस्व बढी उठाएका छौँ”, उनले भने, “यो भन्सार कार्यालयको राजस्व सङ्कलन गर्ने क्षमता रु ५४ करोड मात्रै हो, भन्सार विभागले हरेक वर्ष राजस्व सङ्कलनको लक्ष्य बढाउँदै जाँदा त्यसअनुसार राजस्व सङ्कलन गर्न सकिँदैन ।” 

उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा रु ७४ करोड पाँच लाख ५९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ५९ करोड ७७ लाख ५८ हजार मात्रै राजस्व असुल भएको छ । “शारदा ब्यारेज पुरानो र जीर्ण भएका कारण एकतर्फी तथा सीमित समयका लागि खुल्ने गर्छ र एक चोटिमा १० टनभन्दा बढी सामान ल्याउन दिँदैन ।” 

भन्सार प्रमुख काफ्लेले भने, “यहाँबाट व्यापारीले सिँधै मालवाहक सवारी साधन ल्याउन सक्दैनन्, जसका कारण ठाउँठाउँमा लोड अनलोडमा लागत बढ्छ, यसले गर्दा पनि अन्य यो नाकाबाट ठुलो मात्रामा आयात हुँदैन ।”

प्रमुख काफ्लेका अनुसार राजस्व विभागले पनि कुनै अध्ययनबिना हरेक वर्ष लक्ष्य मात्रै बढाउने गरेका कारण पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको हो । उनका अनुसार कञ्चनपुर भन्सार कार्यालयलाई आर्थिक वर्ष २०७८/७९ मा रु ५२ करोड राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु ४६ करोड मात्रै राजस्व सङ्कलन भएको थियो । 

त्यसैगरि आर्थिक वर्ष २०७९/०८० मा रु ५८ करोड राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु ४२ करोड मात्रै राजस्व सङ्कलन भएको थियो । सुदूरपश्चिममा व्यापारिक नाका नै नभएका कारण यहाँ राजस्व सङ्कलन हुन नसकेको यहाँका व्यवसायी बताउँछन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य जङ्गबहादुर मल्लले सरकारले हरेक वर्ष राजस्व सङ्कलन गर्ने लक्ष्य मात्रै बढाउने गरेका कारण राजस्व सङ्कलनमा कमी आएको बताए । 

“सुदूरपश्चिममा व्यापारिक नाका छैन, पश्चिमी नाका गड्डाचौकी सानो नाका हो, शारदा ब्यारेज सीमित समयका लागि मात्रै खुल्छ ठुलो मात्रामा व्यवसायीको सामान आउँदैन”, उनले भने, “अहिले व्यापार व्यवसायमा कमी आएको छ, सरकारले राजस्व सङ्कलनको लक्ष्य बढाएका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सक्दैन ।” उनले सरकारले नाकामा हुने चोरी तस्करी नियन्त्रण गर्न सके राजस्व सङ्कलनमा वृद्धि हुने बताए । भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा चोरी तस्करीका एक हजार दुई सय ७६ मुद्दा दर्ता गरेको छ ।  रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...