अत्तरिया- कैलालीमा कारागार चलान भएको दोस्रो दिनमै एक जना बन्दीको मृत्यु भएको घटनामा प्रहरी नायब निरीक्षक (सई) हरिजित नाथ पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।




कैलालीका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाका अनुसार ६ दिन पहिले सई नाथलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएबमोजिम थुनामा पठाइएको बताए । बैंकिङ कसुर मुद्दामा कैलाली कारागारमा असार १ गते चलान गरिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको साउन २ गते राति मृत्यु भएको थियो ।





प्रहरीका अनुसार पालीका विरूद्ध जिल्ला अदालत कैलालीले २०८०-११-२९ गते बैंकिङ कसुरमा १० दिन कैद र दुई लाख जरिवानाको फैसला सुनाएको थियो । मृतक पाली विरूद्ध २०८०-०१-२१ गते बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो ।
कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार बैंकिङ कसुर मुद्दामा पाली जेठ २९ गते डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ परेका थिए ।


तर, उनलाई सई नाथकै योजना अनुसार ढिला गरी उनलाई जेठ ३० गते बेलुकीपख कैलाली ल्याइएको थियो । जेठ ३१ गते शनिबार परेको हुँदा असार १ गते मात्रै पालीलाई अदालतमा उपस्थित गराइएको थियो । अदालतको आदेशले तोकिएको सजाय भुक्तानीका लागि पालीलाई सोही दिन जिल्ला कारागार कैलालीमा चलान गरिएको थियो ।
कारागार चलान भएको दोस्रो दिन राति पाली एकाएक बिरामी भएका थिए । सोमबार राति साढे ११ बजेतिर उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । चिकित्सकले उनलाई राति सवा १२ बजे मृत घोषणा गरेका थिए ।
पालीका आफन्तले मृतक पालीको शरीरमा निलडाम तथा चोटपटक देखिएको भन्दै कारागारभित्र चरम याताना दिई हत्या गरेको दाबी गरेका थिए । तर, प्रहरी अधिकारी भने पोष्टमार्टम रिपोर्टपछि मात्रै पालीको मृत्युको कारण स्पष्ट भन्न सहज हुने बताउँदै आएका थिए । हालसम्म पनि प्रहरीले पालीको पोष्टमर्टम रिपोर्टबाट देखिएको कुरा सार्वजनिक गरेको छैन ।
घटनाको विरोधमा डडेल्धुरा बजार बन्द गरिनुका साथै चक्काजाम समेत गरिएको थियो । त्यसपछि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सत्यतथ्य छानबिन समिति गठन भएको थियो । त्यो समितिको निर्देशनमा सई नाथ पक्राउ परेका थिए ।
मृतक पालीका आफन्तले सुरूदेखि नै सई नाथको व्यवहार शंकाष्पद भएको दाबीका साथ कारबाहीको माग गर्दै आएका थिए । नाथले पटक–पटक फोन गरी पालीसँग रकम माग्ने गरेको आरोप आफन्तको थियो । परिवारका सदस्यले असार २ गते मात्रै ८५ हजार रुपैयाँ नाथको खातामा पठाइएको बताएका थिए ।




