अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलका स्वकीय सचिव उमेश जोशीले ‘हाकिम’ लाई कुटेका छन् । गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उप–सचिव) धर्मानन्द जोशीलाई नगर प्रमुख कडेलका सहयोगी उमेशले कुटेका हुन् ।






जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता राजकुमार सिंहले नगर प्रमुख कडेलका सहयोगी उमेश जोशीले प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि हातपात गरेका जानकारी दिए । तर, प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले प्रहरीमा जाहेरी तथा निवेदन दिएका छैनन् ।





इलाका प्रहरी कार्यालय, चौमालाको टोलीले बिहीवार दिनभरी प्रमुख प्रशासकीय अधिकृत जोशीको सुरक्षा गरेको छ। नगर प्रमुख देवीदत्त कडेल सहितको छलफलमा उनका सहयोगी उमेश जोशीलाई माफी दिने तयारी गरिएको छ ।
नगर प्रमुख कडेल र प्रमुख प्रशासकीय अधिकृत जोशीको बिचमा समेत असार महिना भरी बोलचाल बन्द रहेको बताइएको छ । तर, नगर प्रमुखका सहयोगी जोशीले हाकिमलाई कुट्नुको कारण खुलेको छैन ।




