मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सेन्सरयुक्त सौर्यबत्ती जडान गरिएको छ । हिमालयन नेचर लगायतका संस्थाद्वारा सञ्चालित कनेक्ट परियोजनाअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीहरूमा सौर्यबत्ती जडान गरिएका हुन् ।

हिमालयन नेचरका कार्यक्रम संयोजक श्रीराम घिमिरेका अनुसार, जङ्गली जनावर बस्तीमा प्रवेश गर्ने मुख्य नाकाहरूमा रातको समयमा उज्यालो हुने व्यवस्था मिलाउन बत्ती जडान गरिएको छ ।

Navadurga sun

“सौर्य बत्ती साँझ परेपछि आफैँ बल्ने र बिहान उज्यालो हुँदा निभ्ने सेन्सरयुक्त प्रविधिमा आधारित छ,” उनले भने । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गठित सुनदेवी र त्रिशक्ति उपभोक्ता समितिको सहकार्यमा वडा नं १ देखि ७ सम्मका १० स्थानमा बत्ती जडान गरिएको छ ।

परियोजनाअन्तर्गत यस कार्यका लागि करिब रु १० लाख खर्च गरिएको छ । सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर बिष्टका अनुसार हात्ती, चित्तल, नीलगाईजस्ता जनावरहरू रातिका बेला बारम्बार बस्ती छिर्ने भएकाले उज्यालो भएपछि तिनीहरू तर्केर भाग्ने गर्दछन् ।

स्थानीय किसानले खेतबारीमा लगाएको तरकारी, अन्नबाली जोगाउन सौर्यबत्तीले सहयोग पुर्‍याउँदै छ । “मध्यवर्ती क्षेत्रका किसानहरू निकुञ्जबाट आउने वन्यजन्तुका कारण बर्सेनि अन्नबालीमा क्षति भोग्दै आएका छन्,” उनले भने, “विशेषतः वर्षा सुरु हुनुअघि भारतीय दुधुवा नेसनल पार्कबाट चुरे क्षेत्रमा पुग्ने हात्तीका बथानले भौतिक र मानवीय क्षति पुर्‍याउने गरेको छ ।”

“निकुञ्जका जनावरका कारण नगरपालिकाका १० बढी वडाहरू प्रभावित रहेका छन्,” त्रिशक्ति उपभोक्ता समितिका अध्यक्ष दमनबहादुर चन्दले भने, “जङ्गली जनावर प्रभावित सबै क्षेत्रमा सौर्यबत्ती जडानको कार्य हुन नसके पनि थोरै स्थानमा यस वर्ष बत्ती जडान गरिएको छ, अर्को वर्ष अन्य क्षेत्रमा सौर्यबत्ती जडान गर्दै लैजाने योजना रहेको छ ।”

मानव र वन्यजन्तुबिचको द्वन्द्व घटाउन, बस्ती सुरक्षाको दृष्टिकोणले गरिएको सौर्यबत्ती जडान प्रभावकारी हुने अपेक्षा समेत गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...