शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गणनाको कार्य सुरु गरिएको हो ।

निकुञ्ज र विसिएनका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोप चराको गणनाको कार्य गर्नेछ ।“वाइनाकुलर, क्यामेरा, दुरबिन, जिपिएसलगायतको मद्दतले गणनाको कार्य गर्छौँ,” नेपाल पन्छी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले भने, “हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रूपमा पुगेर गणनाको कार्य गर्छौँ, हिँडेर पुग्न नसकिने क्षेत्रमा हात्तीमा चढेर गणनाको कार्य गर्छौँ ।”

Navadurga sun

निकुञ्जसँगै दुई दिन निकुञ्ज बाह्य क्षेत्रमा पनि गणनको कार्य हुने उनले बताए । उनका अनुसार निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँटा, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैयालगायत क्षेत्रमा सुनौलो तोप चरा गणनाको कार्य गरिनेछ ।

गणनका क्रममा चराको सङ्ख्यासँगै भाले, पोथीको सङ्ख्या यकिनको कार्य गरिनेछ । योसँगै गुँडको अवस्था कस्तो छ, कुन प्रजातिका रूखमा गुँड लगाउने गरेको छ, रूखको उचाइ, त्यस क्षेत्रमा रहेको घाँसका प्रजाति, आहाराको अवस्था, सिकारी चराले पुर्‍याउने नोक्सानी, सुरक्षा चुनौती लगायतबारे अध्ययन र अनुसन्धानको कार्य गरिने चरा विज्ञ डगौराको भनाइ छ ।

दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोपको अवस्था अध्ययनको कार्य गरी त्यसैअनुरूप संरक्षणको योजना बनाइने निकुञ्जका रेञ्जर प्रयास केसीले बताए ।

उनका अनुसार नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चरा पाइन्छ । निकुञ्जको घाँसेमैदानकाबिच भागमा यस चराले गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको उनले बताए ।

“रूखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ, गुँड बनाएर यसले बच्चा जन्माउने गर्दछ,” केसीले भने, “तोप चरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो ।

“त्यसयता निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ, निकुञ्जमा सुनौलो तोप चरा एक सयको हाराहारीमा रहेको छ, किसानको साथीका रूपमा रहेको सुनौलो तोप चराले कीराफट्याङ्ग्रा खान मन पराउँछ,” निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लेले भने, “सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ ।”

निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रूखमा गुँड लगाउने यसको विशेषता रहेको उनको भनाइ छ ।उनका अनुसार मनसुनको समय सुनौलो तोप चराले अन्य समयमा भन्दा बढी प्रजनन गर्ने गर्दछ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोप चरासँगै ४०० बढी प्रजातिका चरा पाइन्छन् । रासस

 

ADD Khali jpg
ADD Khali jpg
Loading...