


अत्तरिया- कैलाली कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा मृत्यु भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको परिवारले पाँच दिनपछि शव बुझेको छ ।


पालीकी श्रीमती जानकी सावदले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पक्राउ गरेपछि मृतकका परिवारले शव बुझेका हुन् ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले पालीको शव परीक्षणपछि शुक्रबार बिहान पीडित पक्षले शव बुझेको जानकारी दिए । उनका अनुसार मृतककी श्रीमतीको किटानी जोहरीका आधारमा सई नाथलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन् । नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो । अहिले मृतककी श्रीमतीले उनीविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरेकी छन् ।
मृतककी श्रीमती जानकी साउँदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधबार कारागार प्रमुख बसन्त बहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
तर कैलाली प्रहरीले उनलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र जाहेरी दिइएको थियो । २९ जेठमा डडेल्धुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो । ३१ गते शनिबार परेका कारण उनलाई असार १ गते मात्र अदालत पेश गरिएको थियो । अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो ।
तर २ गते राति साढे १० बजे कारागारका बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो । मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्ध हत्या गरेको आरोप लगाएको छ ।





