

हरि चन्द/ डडेल्धुरा ६ असार– बैतडीको मेलौली नगरपालिकाको वडा नं. ७ मा ३५ लाख रुपियाँको लागतमा आधुनिक कोल्डस्टोर निर्माण हुँदैछ । मेयर भिम बहादुर चन्दको विशेष सक्रियतामा आधुनिक सित भण्डार निर्माण हुन लागेको हो ।


मेलौली नगरपालिका वडा नं. ७ मा आधुनिक कोल्डस्टोर निर्माण गर्नका लागि नेपाल सरकारको केन्द्रीय बजेट कुल ३५ लाख रुपियाँको लागतबाट सुविधा सम्पन्न आधुनिक सित भण्डार भवन निर्माण भैरहेको प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले बताएका छन ।



शीत भण्डार निर्माण पछि नगरका किसानलाई आलु, फलफूल लगायत कृषि उपज भण्डारन गर्न सहज हुने अधिकृत चन्दले जानकारी दिएका छन । मेलौली कृषि उपजका हिसाबले समृद्ध रहेको र यहाँका किसानलाई थप प्रोत्साहित गर्न सकिएमा किसानदेखि उपभोक्ता सम्मलाई लाभ दिन सकिने भएका कारण कोल्डस्टोर निर्माण गर्ने योजना बनाएर काम थालनी गरिएको मेयर भिम बहादुर चन्दले बताए ।
कृषि उपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालिम र बिउबिजन कोल्डस्टोर नै उपलब्ध गराउने अध्यक्ष चन्दको भनाइ छ । यसले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भई प्रतिफल वृद्धि हुने उनले बताए ।
पालिकामा नै चिस्यान केन्द्र निर्माण हुने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । चिस्यान केन्द्र निर्माणको काम थालनी गरिएसँगै पालिकाका किसानले उत्पादित कृषि उपजको भण्डारण गर्न अन्यत्र जान नपर्ने भएपछि खुशी छन् ।





