हरि चन्द/ डडेल्धुरा ४ असार– कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीको मृत्यु भएपछि डडेल्धुरामा बजार र राजमार्ग अवरुद्व गरिएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको प्रहरीले नै हत्या गरेको आरोप लगाउँदै डडेल्धुरा सदरमुकाममा बजार बन्द र राजमार्ग ठप्प गरिएको हो । घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै स्थानीयले बजार र राजमार्ग बन्द गरिएको छ ।



कारागारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तको छ । मृतकका दाई जगदीश रावलले भने, ‘कारागारभित्रै यातना दिइएको थियो । शरीरभर निलडाम छन्, घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्छ ।’ मृतक पाली डडेल्धुराका व्यवसायी पनि हुन् । घटनाको अनुसन्धान र सत्यतथ्य सहित दोषीलाई कारवाही नभएसम्म आन्दोलन नरोकिने व्यवसायी युवराज जोशीको भनाई रहेको छ ।



यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार पाली एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पुर्याइएको थियो । अस्पताल पुर्याएको आधा घण्टामै उनको मृत्यु भएको डीएसपी सिंहले बताए । ‘जाहेरी नआउँदा अहिलेसम्म शवको पोस्टमार्टम पनि भएको छैन,’ डीएसपी सिंहले भने, ‘पोस्टमार्टम भएपछि घटनाबारे अनुसन्धान अगाडि बढ्छ ।’
बैंकिङ्ग कसुरमा पालीलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो । पक्राउ पछिको दुई दिनमै उनको मृत्यु भएको हो ।
कैलाली प्रहरीले पालीलाई पक्राउ गर्नु अघि कञ्चनपुरको महेन्द्रनगरमा पनि उनलाई दुई घण्टा हिरासतमा राखिएको बताइएको छ । त्यहाँ प्रहरीले उनीबाट रकम असुली गरेको आरोप पनि आफन्तले जनाएका छन् ।




