

कैलालीको अत्तरियास्थित धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) कार्यालयमा तीव्र विरोधका बीच स्थानीयको समुहले तालाबन्दी गरेको छ । आयोजनालाई लुकिछिपी धनगढी सार्ने प्रयास भइरहेको भन्दै बिहीबार आक्रोशित स्थानीयहरुले यो कदम चालेका हुन् ।

तालाबन्दी अघि, आयोजनाका कार्यालय प्रमुख निराजन भट्टराईलाई स्थानीयले करिब दुई घण्टा कार्यकक्ष भित्रै थुनेका थिए । गोदावरी नगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टको नेतृत्वमा स्थानीय टोलीले यस कार्यवाहीलाई अगाडि बढाएको हो ।
वडाध्यक्ष भट्टका अनुसार डीडीसीलाई अत्तरियाबाट हटाउने सम्बन्धमा कुनैपनि आधिकारिक जानकारी नदिइ पछाडिबाट निर्णय भएको आशंकामा यस्तो विरोध गरिएको हो । “डीडीसीका लागि जग्गा खोजी प्रक्रिया अघि बढिसकेको थियो, समिति गठन समेत भइसकेको थियो। यस्तो अवस्थामा गुपचुप तरिकाले आयोजना सार्ने सम्झौता स्वीकार्य छैन,” भट्टले भने । उनले आयोजनाका प्रमुख भट्टराईको संलग्नतामा यस्तो योजना बनाइएको भन्दै स्थानीय जनताको विश्वासमा ठेस पुगेको आरोप पनि लगाए ।
घटनापछि स्थानीय स्तरमा डीडीसीको भविष्यबारे थप अन्योल उत्पन्न भएको छ । वडाध्यक्ष भट्टले अत्तरियामै डीडीसीको स्थायी स्थापना सुनिश्चित गर्न आवश्यक जग्गा उपलब्ध गराउने लिखित प्रतिबद्धता व्यक्त गर्दै, माग नस्वीकृत भए थप कडा आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिएका छन् ।