
अत्तरिया- कैलालीकाे गोदावरी नगरपालिका अन्तर्गत रहेका वडाहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नयाँ बजेट तर्जुमा गर्ने कार्य तीव्र रूपमा अघि बढाइरहेका छन् ।




यसैक्रममा वडा नम्बर १ ले पहिलो पटक आफ्नो वार्षिक बजेट सार्वजनिक गर्दै १ करोड २० लाख रुपैयाँ बराबरको योजना प्रस्तुत गरेको छ । नयाँ वर्षसँगै नयाँ योजनाहरू तथा जनताको प्राथमिकता समेट्दै बजेटको खाका तयार गरेर वडा भेला वडा भेला प्रस्तुत गरेको छ ।





वडाले टोलटोलमा पुगेर स्थानीय बासिन्दाका माग, आवश्यकता र सुझावहरू संकलन गरी योजनाको तर्जुमा गरेको छ । उक्त बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, सीपमूलक तालिम र भौतिक पूर्वाधारका क्षेत्रमा विशेष जोड दिइएको छ । वडाको समग्र विकासलाई लक्षित गर्दै जनतालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने कार्यक्रमहरू प्राथमिकता सूचीमा राखिएका छन् ।
वडा नम्बर १ का अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको नेतृत्वमा वडाले आगामी बर्षकाे बजेट सार्वजनिक गरेको छ। वडाका अनुसार योजनाहरू प्रभावकारी कार्यान्वयन गरिनुका साथै पारदर्शिता र अनुत्तरदायित्व कायम राखिने समेत प्रस्तुत गरेको थियो ।
यसैबीच, वडाले आयोजना गरेको नवौं वडा भेलाकाे अध्यक्ष गोपाल दत्त भट्टको अध्यक्षतामा प्रमुख अतिथिका रूपमा नगर प्रमुख वीरेन्द्र भट्ट रहेका थिए । विशिष्ट अतिथि शारदा देवी रोकाया, विभिन्न वडाका अध्यक्षहरू, तथा प्रमुख राजनीतिक दलका स्थानीय नेताहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता रहनु सकारात्मक संकेतका रूपमा हेरिएको थियो ।
वडाले स्थानीय विकासलाई सुदृढ बनाउन बजेट पारदर्शी, सहभागी र समावेशी ढंगले तर्जुमा गरिएको बताउँदै, आगामी दिनमा योजनाको प्रभावकारी कार्यान्वयनमार्फत वडालाई समुन्नत र समृद्धि गर्ने लक्ष्य राखेको छ ।