
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाएको छ । दलका नेता घनश्याम चौधरीले रिक्त रहेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कसलाई पठाउने भन्नेबारे छलफल र निर्णय गर्न बैठक बोलाइएको जानकारी दिए ।


नाउपाको प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्दैछ । उनका अनुसार बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल हुनेछ । तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले आर्थिक लेनदेनसम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए ।

१६ चैतमा चौधरीले पदबाट राजीनामा दिएपछि अहिले उक्त मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाहले आफैंसँग राखेका छन् । नाउपाले सर्वसम्मत रूपमा सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय लिइने जनाएको छ । नाउपाको सिफारिसका आधारमा मुख्यमन्त्री शाहले मन्त्री नियुक्त गर्नेछन् ।