बैतडीमा भूमिहीनका समस्या समाधान गर्न सहजीकरण समिति गठन

बैतडी- भूमि समस्या समाधान गर्न बैतडीका दुई स्थानीय तहमा स्थानीय सहजीकरण समिति गठन भएका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समितिले यहाँका स्थानीय तहमा सहजीकरण समिति गठन गरेको हो ।

जिल्लाको पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा समिति गठन गरिएका भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष रमेश पाण्डेयले बताए । उनले भने, “भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीका समस्या समाधानका लागि पालिकाहरूसँगको समन्वयमा स्थानीय सहजीकरण समिति गठन गरेका हौँ ।”

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सम्बन्धित पालिका प्रमुख संयोजक रहने समितिमा उपप्रमुख सहसंयोजक रहने व्यवस्था छ । पालिका भित्र रहेका राष्ट्रिय राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष लगायत अन्य सरोकारवाला समितिमा सदस्य रहने व्यवस्था रहेको छ ।

समितिले पालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीको पहिचान गरेर प्रमाणीकरणका लागि सम्बन्धित कार्यपालिकाबाट निर्णय गराउने जनाइएको छ ।

यसैबीच, दोगडाकेदार गाउँपालिका बाहेक बैतडीका नौ स्थानीय तहमा भूमि शाखा गठन गरिएको छ ।

स्थानीय तहमा कार्यरत शाखा अधिकृतलाई उक्त शाखाको जिम्मेवारी दिएर काम अघि बढिरहेको भूमि समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ । जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्नेछ । रासस

Loading...