बैतडी- बैतडीको पुर्चौंडीमा तीनदिने वृहत स्वास्थ्य शिविर आजदेखि शुरु भएको छ । बैतडी समाज कैलाली र पुर्चौंडी नगरपालिकाको आयोजनामा शिविर शुरु गरिएको हो ।
शिविरमा विशेषज्ञ चिकित्सकहरूले सेवा दिइरहेका बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तरगत समाजले हरेक वर्ष स्थानीय सरकारहरूसँग सहकार्य गरेर शिविर सञ्चालन गर्दै आएको उनले बताए ।
पुर्चौंडी बहुमुखी क्याम्पसको भवन र पुरानो स्वास्थ्य चौकीको भवनमा शिविर सञ्चालन भइरहेको पुर्चौंडी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताए । तीन दिन सम्म सञ्चालन हुने शिविरमा मुटु रोग सम्बन्धी जाँच, जनरल चेकजाँच, हाडजोर्नी तथा नसा रोग सम्बन्धी जाँच, आँखा जाँच लगायतका सेवाहरू प्रदान भइरहेका उनले बताए । बैतडी समाज कैलालीले दुर्गमका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविर आयोजनामा सहकार्य गरेको शिविर संयोजक गजेन्द्रबीर चन्दले बताए ।
शिविरको आज एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको छ । पुर्चौंडी नगरपालिकाका प्रमुख दिपक बहादुर बमको अध्यक्षतामा भएको शिविर उद्घाटन सत्रमा सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथि रहेकी थिइन् ।

शिविर उद्घाटन सत्रमा बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्ट, धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्द, लोकतान्त्रिक निर्माण व्यवसायी संघका सुदूरपश्चिम अध्यक्ष मदन कुँवर, पुर्चौंडी नगरपालिकाका उपप्रमुख मीना धानुक, विभिन्न वडाका वडा अध्यक्ष, च्यारिटी हेल्थ फाउण्डेसन नेपालका कोषाध्यक्ष राधाकुमारी बम लगायतको उपस्थिति रहेको थियो ।
शिविरको उद्घाटन गर्दै सामाजिक विकास राज्यमन्त्री खड्काले स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यसको प्रत्याभूति गर्नका लागि तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताइन् । बैतडी समाज कैलालीले गरिरहेको प्रयासमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्ने बताइन् ।
यस्तै पुर्चौंडी नगरपालिकाका प्रमुख दिपक बहादुर बमले नगर सरकारले स्वास्थ्य सेवामा नगरवासीको पहुँच बढाउन नगर सरकारले पहल गरिरहेको बताए ।
पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले नगर क्षेत्रका नागरिकलाई उनीहरूको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन शिविरको आयोजना गरिएको बताए ।
वृहत स्वास्थ्य शिविरमा शनिबार रक्तदान कार्यक्रम समेत रहेकाले सहभागिता जनाउन सबैलाई आग्रह गरिएको छ । पुर्चौंडीमा सञ्चालन भइरहेको वृहत स्वास्थ्य शिविरमा सहभागी भएर स्वास्थ्य सेवा लिन पुर्चौंडी नगरपालिकाले सबैमा आग्रह समेत गरेको छ ।