अत्तरियामा विद्युत कर्मचारी माथि खुकुरी प्रहार प्रकरण : ३ जना पुर्पक्षका लागि कारागार चलान

अत्तरिया- कैलालीको अत्तरियामा विद्युत् प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार भएको घटनामा पक्राउ परेका ३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

चिसापानीका मार्टेन भनिने २० वर्षीय प्रविन शाही, धनगढी उप महानगरपालिका– १ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका– १ विजयनगरका २५ वर्षीय अर्जुन भट्टलाई बुधबार कैलाली जिल्ला अदालतले कारागार चलानको आदेश दिएको हो ।

विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया नो लाइटमा कार्यरत सुन्दरलाल चौधरीमाथि गत फागुन २२ गते मोटरसाइकलमा आएका ६ जनाको समूहद्वारा कार्यालय परिसरमा दिनदहाडै खुकुरी प्रहार भएको थियो ।

घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा फागुन २६ गते गोदावरी–५ गेटाबाट मार्टेन भनिने शाही पक्राउ परेका थिए भने सिंहलाई फागुन २७ गते र घटना घटाउन सहयोग गरेको आरोपमा भट्टलाई चैत्र ७ गते प्रहरीले पक्राउ गरेको थियो । सोहि घटनामा संलग्न रहेका अन्यको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Loading...