

बैतडी- बैतडी जिल्लामै तयार भएको नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द भएको छ । स्थानीय वनमै उपलब्ध लोक्ताको बोटबाट नेपाली कागज तयार गरिन्छ । दार्चुलामा भएका कार्यालयले लेटरप्याड, चिठीपत्र राख्ने खाम लगायतका लागि प्रयोग नगर्दा उत्पादन बन्द भएको हो ।


सिगास गाउँपालिका–९, चौखाम स्थित जालहाल्ला नेपाली हाते कागज उद्योगले दैनिक १५ देखि २० कोरी हाते कागज उत्पादन गर्न सक्छ । एक कोरीमा २० वटा कागज हुन्छन् । जापानी प्रविधिबाट उत्पादित कागज जिल्लाका सरकारी तथा गैरसरकारी निकायले खरिद गर्ने चासो नदेखाउँदा उत्पादन बन्द गर्नु परेको ८० वर्षीय सञ्चालक वीरबहादुर चन्दले बताए ।


कागज बिक्री नभएपछि उद्योगमा सात क्विन्टल कच्चा पदार्थ थन्किएको छ । नेपाली कागज बनाउन प्रयोग हुने लोक्ताका बोटले वन क्षेत्र भरिभराउ छ । कागज उत्पादनका लागि राजस्व तिरेर सङ्कलन गरिएको कच्चा पदार्थ थन्किँदा निराश बन्नु परेको उद्यमीले गुनासो गरेका छन् । उद्योगका सञ्चालक वीरबहादुर चन्दले २०७० सालमा गाउँमै नेपाली कागज उद्योग सञ्चालन गरेका थिए ।


कोरोना सङ्क्रमण सुरु हुनुअघि काठमाडौँसम्म बिक्री हुँदै आएकोमा पछिल्लो समय व्यापारीसँग सम्पर्क नभएको उनले बताए । सुरुवाती दिनमा ढुङ्गामै लोक्ता थिचेर नेपाली कागज बनाउन सुरु गरेका चन्दले जापानी प्रविधि सिकेपछि कागजको गुणस्तर राम्रो भए पनि बजार नभएको बताए ।
चन्दले २०६६ सालमा गाउँका अगुवा व्यक्तिहरूलाई समेटेर उदयदेव सामुदायिक वन दर्ता गर्नुभएको थियो । त्यसपछि २०७० सालमा नेपाली कागज बनाउन सामुदायिक वनमा लोक्ताका बोटको छ वटा ब्लक खेती विस्तार गरे । हाल एक महिनामा एउटा ब्लकबाट लोक्ता निकाल्न सकिने गरी बिरुवा हुर्केको चन्दले बताए ।
सामुदायिक वनलाई राजस्व तिरेर वार्षिक २३ टन कच्चा पदार्थ प्रयोग गर्न सक्ने अनुमति पाएका चन्दले कागजको बजारीकरणका लागि कतैबाट सहयोग नभएको बताए । बैतडीका १० स्थानीय तह र ८४ वटा वडा मध्ये कसैले पनि स्थानीय उत्पादन नेपाली कागज प्रयोग नगरेकोमा उनी निराश भएका छन् । उनले भने, “स्थानीय सरकारले ठूला कम्पनीले उत्पादन गरेको कागज र खाम किन्ने गर्छन् । गाउँमा उत्पादित नेपाली कागज किन्दैनन् ।”
नेपाली कागज धमिराले नखाने विशिष्ट खालको कागज भए पनि यसको महत्व स्थानीय सरकारले नबुझेको उनले बताए । नेपाली कागज कार्यालयमा प्रयोग गर्ने खाम, लेटर प्याड, निमन्त्रणा कार्ड, विवाह कार्डमा प्रयोग गर्न सके स्थानीय उद्योग फस्टाउने उनले बताए ।

