अत्तरियाको डिडीसी नसार्न माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डिडीसी) नसार्न माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रदेशका वरिष्ठ नेतृत्व, सांसद, स्थानीय निकायका प्रतिनिधि र सामुदायिक वन प्रतिनिधिहरूको संयुक्त प्रतिनिधिमण्डलले मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बम, प्रदेश सांसद दिर्घ सोडारी, तुलसी देवकोटा, खेमा बिष्ट, जानकारी कुवर पौडेल,गोदावरी नगरपालिकाका नगर प्रबक्ता तथा वडा न- १ का वडाअध्यक्ष गोपालदत्त भट्ट लगायत सरोकारवाहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।

मुख्यमन्त्री शाहले ज्ञापन स्वीकार गरी तत्काल प्रतिक्रिया दिँदै संघीय र प्रदेश कृषि मन्त्रीसँग छलफल गरी यस मामिलामा अन्तिम निर्णय गर्ने आश्वासन दिए । संघीय सरकारले चालु आर्थिक वर्षमा डिडीसी मार्फत दुग्ध प्रशोधन कारखाना सञ्चालनका लागि ६ करोड रुपैयाँ बजेट राखेको छ ।

तर डिडीसी प्रशासनले अत्तरियामा जग्गा अभाव र धनगढीमा उपयुक्त भूमि उपलब्ध भएको दाबी गरी संस्थान सार्ने योजना बनाएको छ। यसले गर्दा स्थानीय स्तरबाट जबरजस्त विरोध भइरहेको छ ।

Loading...