

कञ्चनपुर- कञ्चनपुरमा गरगहना चोरी गरेर खरिद बिक्रि गर्ने ६ जनालाई पक्राउ गरिएको छ ।


गत मंगलबार भिमदत्त नगरपालिका–७ हल्दुखालका केशब सिंह महराको घरबाट सुनका विभिन्न गरगहना चोरी गर्ने चार जना र चोरीका गरगहना खरिद गर्ने दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।




जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले गरगहना चोरीमा संलग्न भिमदत्त नगरपालिका– ६ बस्ने ३० वर्षीय राहुल चन्द, २६ वर्षीय अमित खत्री, २१ वर्षीय चक्र सुनार र १८ वर्षीय महेन्द्र नायकलाई पक्राउ गरिएको बताए ।
उनीहरूले चोरी गरेका गहना खरिद गर्ने निङ्लासैनी सुनचाँदी पसलका सञ्चालक भीमदत्त नगरपालिका–४ बस्ने ३५ वर्षीय नविन पौडेल र ३२ वर्षीया इसा पौडेललाई पनि पक्राउ गरिएको डीएसपी जोशीले बताए ।
उनीहरूले चोरी गरेर बिक्री गरेका सुनको छड्के तिलहरी, ३ वटा मंगलसुत्र, २ औंठी, २ काँटा, एउटा नागिन माला, एउटा चन्द्रमा, एउटा गलोबन्द, एउटा कानमा लगाउने झुम्का, एक थान चाँदीको औंठी र १६ दशमलव १४ ग्राम गलाएको सुन बरामद गरिएको छ । सुन चोरी गर्ने र खरिद गर्नेलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

