काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।




लगातार दोस्रो पटक फाइनलमा पुगेका दुवै टोली यसपटक पनि उपाधिका लागि आमनेसामने हुन लागेका हुन्। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा लुम्बिनी रहँदा सुदूरपश्चिम भने पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ।





लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमार्फत फाइनल पुगेको हो। पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो। यसअघि लिग चरणको भेटमा पनि लुम्बिनीले सुदूरपश्चिममाथि ७ विकेटको जित निकालेको थियो।


पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमले उपाधि यात्रालाई निरन्तरता दिएको छ। दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो। लिग चरणमा १० अंकसहित दोस्रो भएको सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको टोली हो।
यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग पराजित भएको थियो। त्यसैले यसपटक सुदूरपश्चिम लगातार तीन पटक फाइनल पुगेर पनि उपाधिविहीन बन्ने इतिहास बदल्ने लक्ष्यमा हुनेछ।
लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेका दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी छन्।
यसर्थ, आजको फाइनल लुम्बिनीका लागि उपाधि रक्षा गर्ने अवसर हुनेछ भने सुदूरपश्चिमका लागि विगतका दुई फाइनल हारको बदला लिँदै पहिलो पटक च्याम्पियन बन्ने सुनौलो मौका हुनेछ। क्रिकेटप्रेमीको ध्यान आज कीर्तिपुरस्थित त्रिवि मैदानमा केन्द्रित हुनेछ।




