काठमाडौं- निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीस्वरुप राजनीतिक दलहरूसँग छलफल तथा परामर्श प्रक्रिया सुरु गरेको छ।




आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरेको जनाएको छ।





आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई आयोगमा बोलाइएको जानकारी दिए। उनले भने, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरूलाई आयोगमा आमन्त्रण गरिएको हो।”


प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल आगामी वैशाखमा पूरा हुने भएकाले आयोगले नयाँ निर्वाचनको मिति घोषणा तथा निर्वाचन व्यवस्थापनका लागि आवश्यक गृहकार्य अघि बढाएको हो।
आयोगका अनुसार निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा राजनीतिक दलहरूको सुझाव लिन छलफल गर्न लागिएको हो।
राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।




