

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । वनकर्मी सहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकति संरक्षणको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।




शुक्रबार राति टेंढुवा गाउँ पसेर बाघले एक स्थानीयको बाच्छोलाई मारेको थियो । हिजो दिनभरि गहुँबारीमा बसेको बाघ आज बिहान त्यसमा देखिएको थिएन ।


हिजो बसेको स्थान भन्दा केही पर गहुँमै फेला पारेर आज दिउँसो बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताए । गाउँ पसेको बाघ नियन्त्रणका लागि वनकर्मी सहित सुरक्षाकर्मीको टोलीले रातभरि पहरा दिएका थिए ।

