स्वास्थ्य कार्यालय बैतडीले क्षयरोगका बिरामी खोज्दै 

बैतडी- स्वास्थ्य कार्यालय बैतडीले क्षयरोगका बिरामी खोज्न थालेको छ । जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका क्षयरोगका बिरामी खोज्न थालिएको ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए ।

कार्यालयले स्थानीय तहसँग समन्वय गरी सम्भावित बिरामी भएका तथा दुर्गम क्षेत्रमा घुम्ती शिविर आयोजना गरिरहेको उनले बताए ।

घुम्ती शिविरमार्फत सम्भावित व्यक्तिको खकारको नमुना सङ्कलन गरी परीक्षण गरिने निरीक्षक बडालले बताए। दश स्थानीय तहमध्ये उहाँका पाँच तहमा घुम्ती शिविर सम्पन्न भइसकेका छन् । बजेट पुगेसम्म सबै स्थानीय तहमा शिविर सञ्चालन गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

हाल सम्म डिलाशैनीको ब्रह्म आधारभूत स्वास्थ्य केन्द्र, दोगडाकेदारको न्वाली स्वास्थ्य केन्द्र, पञ्चेश्वर गाउँपालिकाको आमचौरा स्वास्थ्य चौकीअन्तर्गत विनायकमा घुम्ती शिविर सम्पन्न भएका छन् ।

त्यस्तै शिवनाथ गाउँपालिकाको नागार्जुन आधारभूत स्वास्थ्य केन्द्र र सिगास गाउँपालिकाको कान्धार आधारभूत स्वास्थ्य केन्द्रमा घुम्ती शिविर सम्पन्न भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यस क्रममा दुई सय २३ को नमुना परीक्षण गर्दा चार जनामा क्षयरोग पुष्टि भएको छ । कान्धारमा ७१ जनाको नमुना सङ्कलन गरिएकामा रिपोर्ट आउन बाँकी छ । निरीक्षक बडालका अनुसार जिल्लामा ९८ जना क्षयरोगका बिरामीले औषधि सेवन गरिरहेका छन् ।

स्वास्थ्य कार्यालयको नियमित कार्यक्रमअन्तर्गत घुम्ती शिविरमार्फत विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएको सूचना अधिकारी विपिन लेखकले बताए । शिविरमा क्षयरोग, कुष्ठरोग, मलेरियालगायत नसर्ने रोगको जाँच तथा परामर्श दिने गरिएको उनले बताए ।

Loading...