

अत्तरिया- नवजीवन खाद्य उद्योगले चामल बिक्री वितरण सुरु गरेको छ । कैलालीको गोदावरी नगरपालिका- ८ स्थित मजगाउँमा नवजीवन सहकारी संस्था लिमिटेडले सुरु गरेको नवजीवन खाद्य उद्योगले आजदेखि चामल बिक्री वितरण सुरु गरेको हो ।


जस्का लागि उद्योगले १६ हजार २८ क्विन्टल धान खरिद गरि १ हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको छ । जसबाट ६२९ क्विन्टल चामल उत्पादन भएको छ । खाद्य उद्योग स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष देव बहादुर बमले मोटो र मसिनो गरि दुई भागमा चामललाई छुट्याइएको बताए ।


२५ किलोको मोटो चामलको १४ सय र मसिनो चामलको २२ सय दर तोकिएको उनले बताए । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने उनले बताए । उनका अनुसार पहिलो चरणमा नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरुबाट बिक्री वितरण गरिने छ ।


छिटै सहकारी मन्त्रालयसंग समन्वय गरि गाडीको व्यवस्थापन गरिने र चामल होम डेलिभरीको व्यवस्था पनि गरिने बमले बताए ।
नवजीवनका ३६ हजार शेयर सदस्य सहित आम जनताले शुद्ध र अर्ग्यानिक चामल खान पाउन भन्ने उद्देश्यले नवजीवनले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको र आगामी दिनमा पिठो र तेल उत्पादनका साथै पानी फ्याक्ट्री सञ्चालनको योजना अघि बढाएको उनले बताए ।
यस क्षेत्रलाई नवजीवन औद्योगिक ग्रामका रुपमा विकास गरिने भन्दै बमले शेयर सदस्यहरूलाई कृषिमा आकर्षित गर्नुका साथै प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी सिर्जना गर्नु नवजीवनको भावी योजना रहेको बताए ।
रानी जमरा सिँचाई आयोजना सुरु भएमा त्यहाँका किसानलाई बिउ वितरणको योजना पनि अघि बढाइने उनको भनाई छ । २०४७ सालमा स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखा सहित सञ्चालनमा छ ।
३६ हजार ८१ जना शेयर सदस्य रहेको यस सहकारीमा ३१ करोड ३४ लाख शेयर पूँजी रहेको छ । ५ अर्ब ७३ लाख ६४ हजार निक्षेप संकलन गरि ४ अर्ब १६ करोड १४ लाख रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

