

अत्तरिया- कैलालीको अत्तरियामा रहेको सृजनशील युवा क्लबद्वारा आयोजित ‘स्पोर्ट्स लिग’ खेल उत्सव अन्तर्गत भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा सिवाईसी लामिताल टिमले उपाधि जित्न सफल भएको छ भने सिवाईसी भल्का धाम टिम उपविजेता बन्न पुगेको हो ।




उपाधि विजेता सिवाईसी लामितालले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्यो भने उपविजेता वनेको सिवाईसी भल्का धामले २५ हजार रुपैयाँ प्राप्त गर्यो । साथै, प्रतियोगितामा विजेता खेलाडीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।


प्रतियोगितामा कुल ८ टिम सहभागी रहेका थिए । यस लिगले खेलकुद प्रवर्द्धनसँगै पर्यटकीय क्षेत्रहरूको विकास तथा युवाहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखेको छ । खेलकुद प्रति युवाहरूको रुचि बढाउँदै उनीहरूलाई खेल मार्फत सशक्त बनाउने लिग आयोजक समितिको भनाइ छ ।
मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा आयोजना गरिने यस प्रतियोगितामा २ लाख रुपैयाँ बराबरको पुरस्कार राशि तोकिएको छ ।
२०५४ सालमा स्थापना भएको सृजनशील युवा क्लबले खेलकुद तथा सामाजिक गतिविधिहरूमा सक्रिय रहँदै आएको छ । ‘स्पोर्ट्स लिग’ प्रतियोगिता स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न र खेलकुद संस्कृतिलाई मजबुत बनाउन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
यसैबीच आयोजकले लिगको अर्को चरण अन्तर्गत फुटबल प्रतियोगिता चैत २ गते देखि सुरु हुने जानकारी गराएको छ । भलिबल, क्रिकेट, फुटबल लगायत खेलहरूलाई समेटेर युवाहरूलाई खेलकुद मैत्री वातावरण सिर्जना गर्न लिगले महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।

