सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध स्ववियू नेतृत्व

अत्तरिया- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनअन्तर्गत सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । कतै विभिन्न विद्यार्थी संगठनबीच पद बाँडफाँट गरेर त कतै एकल उम्मेदवारी परेकाले प्रतिस्पर्धा बिना नै नेतृत्व चयन भएको हो ।

सुदूरपश्चिमका ११ क्याम्पसमध्ये ६ मा अनेरास्ववियु, ३ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) र २ मा अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्विरोध सभापति चुनिएका छन् ।

दार्चुलामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै पाँच क्याम्पसमा विद्यार्थी संगठनहरूबीचको सहमति अनुसार स्ववियू समिति निर्विरोध चयन गरिएको छ । अखिल, नेविसंघ र अखिल (क्रान्तिकारी) बीच भएको सहमति अनुसार नेविसंघले दुई, अखिलले दुई, र अखिल (क्रान्तिकारी) ले एक क्याम्पसको नेतृत्व लिएका छन् ।

अखिलका जिल्ला अध्यक्ष नरेन्द्र जोशीका अनुसार लटीनाथ क्याम्पस, मार्मामा रुकेश बिष्ट र कृष्ण स्नातक क्याम्पस, लालीमा ओमकार पाल अखिलबाट निर्विरोध सभापति चयन भएका छन् । त्यस्तै, अपिनम्पा क्याम्पस, हुतीमा शेर बहादुर बम र राष्ट्रिय क्याम्पस, दत्तुमा लिलु भट्ट नेविसंघबाट निर्विरोध सभापति चयन भए । शंकरपुर क्याम्पस, दार्चुलामा अखिल (क्रान्तिकारी) की जानकी टमटा सभापति चयन भएकी छन् ।

बझाङको सेती क्याम्पसमा अखिलका दीपेन्द्र दौल्याल, बैतडीको नवप्रभात संयुक्त क्याम्पसमा अखिलकै सपना चन्द, बैतडीकै शिक्षा क्याम्पसमा अखिलका अक्बर चन्द, र बाजुराको बुदिनन्दा क्याम्पसमा अखिलकै भाष्कर शाही निर्विरोध सभापति चयन भएका छन् । अछामको साँफेबगरस्थित त्रिपुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका कमल कुँवर निर्विरोध सभापति चुनिएका छन् । कुँवर यसअघि पनि सभापति भइसकेका थिए ।

बझाङको शान्ति आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) का बम धामी निर्विरोध निर्वाचित भएका छन् । सुदूरपश्चिमका ५३ कलेजमा स्ववियू निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत यहाँ ७६ कलेज भए पनि ५३ वटामा मात्र संगठन दर्ता भएकाले निर्वाचन प्रक्रिया ती कलेजमा मात्र सञ्चालन गरिएको हो । यस पटकको स्ववियू निर्वाचनमा धेरै क्याम्पसमा प्रतिस्पर्धा नहुँदा चुनावी प्रक्रिया तुलनात्मक रूपमा सहज बनेको छ ।

Loading...