

धनगढी- गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विशेषतालाई कमजोरीको रुपमा सम्झन नहुने बताएका छन्। सोमबार धनगढीमा आयोजित नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।




उनले भने ‘राजनैतिक स्वतन्त्रता र उपभोगले मात्रै नपुग्ने रहेछ । जवसम्म लोकतन्त्रसँगै समृद्धिको यात्रा,वितरणको प्रणालीसँग जोड्न सक्दैनौँ तबसम्म लोकतन्त्रमा आरोह अवरोह आइरहन्छन् ।’


गृहमन्त्री लेखकले भने ‘क्रान्ति र आन्दोलनबाट फालिएका राजाले त्यसै भित्र रहेर सबै नागरिकले पाउने स्वतन्त्रताको उपभोग गरिरहेका छन् । यो नेपाली लोकतन्त्रको विशिष्टता,उदारपन हो । लोकतन्त्रको विशेषतालाई कमजोरीका रुपमा नसम्झियोस् । यो कांग्रेसले एकमत भएर भन्नै पर्छ ।’
उनले आजको दिनमा नेपाली कांग्रेसले आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने बताए । त्यस्तै उनले नयाँ सत्ता समिकरण संविधानको रक्षा गर्न, मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान बनेको बताउँदै समिकरणलाई ठीक ढंगले अगाडि बढाउनु पर्ने बताए ।

